×

एकल वाचनमा कवि मञ्जुल

images


गण्डकी, १३ असोज : पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत हुनुभयो । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’मा उहाँले दर्जन बढी कविता सुनाउनुभयो । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गर्नुभएको थियो ।

पोखरेली वाङ्मयप्रेमीले उहाँका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल र सन्दर्भबारे बताउँदै कविता पाठ गर्नुभएको थियो ।

उहाँले राल्फा सांस्कृतिक अभियानका क्रममा नेपालका गाउँबस्ती डुल्दाका बखत लेखिएका कवितासमेत सुनाउनुभएको थियो । राल्फा समूहको सर्जक र गायकका रूपमा जनताका आवाज मुखरित गर्दाको क्षणलाई मञ्जुलले कविता वाचनका क्रममा स्मरण गर्नुभयो । 

आजभन्दा झण्डै ५० वर्षअघि निरकुंश पञ्चायतविरुद्ध गीत र कविताका माध्यमबाट जनजागरण ल्याउन उक्त समूह सक्रिय भएको थियो । पछि त्यो राल्फा सांस्कृतिक आन्दोलनका रूपमा विकास भएको थियो । उक्त समूहमा मञ्जुल, रामेश, रायनलगायत गायक तथा संस्कृतिकर्मी सहभागी थिए ।

कवि तीर्थ श्रेष्ठले मञ्जुललाई जनवादी गायकसँगै कवि व्यक्तित्वका लिनुभयो । “उहाँ जागरणका गायक हुनुहुन्छ, कविता, यात्रा संस्मरणमा पनि उहाँ सशक्त देखिनुहुन्छ”, श्रेष्ठले भन्नुभयो, “धेरै कविहरूका लागि मञ्जुल दाइ अभिभावक, मागदर्शक र उत्प्रेरक हुनुहुन्छ ।”

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जीवनको उत्तरार्धमा पनि कवि मञ्जुल सिर्जनाकर्ममा उत्तिकै सक्रिय रहेको बताउनुभयो । “उहाँजस्तो विशिष्ट प्रतिभालाई पोखरामा एक वाचनमा उभ्याउन पाउँदा हामी पनि गर्वित छौँ”, उहाँले भन्नुभयो ।
–––

शनिबार १३ असोज २०८० ०६:३६ PM मा प्रकाशित

प्रतिक्रिया