×

तीन विशिष्ट व्यक्तित्वको अभिनन्दन 

images

 काठमाडौं । साहित्यिक पत्रकार सङ्घले आयोजना गरेको एक विशेष समारोहमा नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीताकेशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरियो । 

साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको सन्दर्भ पारेर उहाँहरूलाई अभिनन्दन गरिएको हो । प्रमुख अतिथि संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ,

विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारी, सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले उहाँहरूलाई अभिनन्दन गर्नुभएको थियो ।

अभिनन्दन कार्यक्रममा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ र साहित्यकार उन्नति बोहरा शीलासमेतको सहभागिता थियोे । कार्यक्रममा प्रमुख अतिथि सुवासचन्द्र नेम्बाङले लेखक साहित्यकारहरूले देशमा सधैं गाईजात्रा भइरहेको छ भनेर गुनासो गर्नुभन्दा त्यस्ता गाईजात्रा गर्नेहरूसम्म आफ्ना विचार पुर्‍याउने र उनीहरूलाई ठीक बाटोमा ल्याउनेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

उहाँले साहित्यिक पत्रकार सङ्घका गतिविधिसँग आफू लामो समयदेखि जोडिएको बताउँदै यस्ता कार्यक्रमबाट समाजलाई अघि बढाउने काममा योगदान पुग्ने धारणा राख्नुभयो । 

विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशमा बढ्दो विकृति र विसङ्गतिविरुद्ध स्रष्टाहरू फेरि जागरुक हुनुपर्ने आवश्यकता औल्याउनुभयो । सक्रिय राजनीतिमा लागेपछि आफूले सिर्जनात्मक कार्यमा समय दिन नसके पनि साहित्य आफ्नो रूचिको विषय भएको बताउनुभयो । 

पूर्वमन्त्री नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारीले यो देशको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताउँदै नयाँ निर्माण हुन लागेको संसदभवनको प्राङ्गणमा उहाँको प्रतिमा राख्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले आजको कार्यक्रम आफ्नो जीवनकै ऐतिहासिक कार्यक्रम भएको पनि बताउनुभयो ।सम्मानित व्यक्तित्वद्वय डा. जगमान गुरुङ र मदनदास श्रेष्ठले समेत बोल्नुभएको उक्त कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको योगदानमाथि प्रकाश पार्नुभएको थियो । 

 

अध्यक्षको आसनबाट सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घले ५० वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा गर्दैआएको योगदानको स्मरण गर्नुभयो । उहाँले साहित्यिक पत्रकारहरूको हकहितको सुरक्षा र सहयोगका लागि छुट्टै निकायको आवश्यकतामा जोड दिनुभयो ।

साथै उहाँले समाजसेवी शोभित उप्रेतीसितको सहकार्यमा शैलुङमा "स्रष्टा गृह"को संचालन गरिने पनि बताउनु भयो । 

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, समालोचक प्रमोद प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो भने समाजसेवी शोभित उप्रेतीले आजैदेखि उप्रेती

समाजको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्भाल्नु भएकोमा बधाई पनि ग्यापन गरिएको थियो । होटल तपसमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गर्नुभएको थियो ।

आइतबार​ १४ साउन २०८० ११:०८ AM मा प्रकाशित

प्रतिक्रिया