काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘अन्तर पार्टी निर्देशन-२’ (अपानी) जारी गरेको छ। शुक्रबार जारी गरिएको ४६ पृष्ठ लामो विस्तृत अपानीमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको गहिरो विश्लेषण गर्दै पार्टीका २९९ जना केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन र जिम्मेवारी बाँडफाँटको विषय समेटिएको छ।
आगामी निर्वाचन र पार्टी सुदृढीकरणको रणनीतिक योजनालाई ध्यानमा राख्दै एमालेले केन्द्रदेखि पालिका तहसम्मै नेताहरूलाई भूगोल र विभागको ठोस जिम्मेवारी तोकेर यो निर्देशन जारी गरेको हो।
पार्टी संगठनलाई जगैदेखि बलियो बनाउने उद्देश्यका साथ एमालेले देशव्यापी रूपमा ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने निर्णय समेत यसै अपानीमार्फत सार्वजनिक गरेको छ।
यसका साथै दस्तावेजमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र रिहाइको सन्दर्भ, हालै विकसित राजनीतिक परिस्थितिको समीक्षा र सचिवालय बैठकले गरेका विभिन्न महत्त्वपूर्ण निर्णयहरूलाई समेटिएको छ।
नयाँ कार्यविभाजन अनुसार पार्टी अध्यक्ष ओलीले समग्र पार्टी कामको मुख्य राजनीतिक नेतृत्व गर्नुहुनेछ भने उपाध्यक्षहरूलाई विभिन्न विभाग तथा विशिष्ट क्षेत्रहरूको समन्वय गर्ने उच्च जिम्मेवारी सुम्पिएको छ।
यसैगरी, पार्टीको साङ्गठनात्मक सुदृढीकरण र दैनिक प्रशासनिक कामलाई चुस्त बनाउन महासचिव शंकर पोखरेललाई विशेष जिम्मेवारी दिइएको छ।
उनलाई समग्र सङ्गठनात्मक कामको संयोजन गर्ने र केन्द्रीय कार्यालय प्रमुखको भूमिका निर्वाह गर्ने गरी कार्यविभाजन तोकिएको छ। पार्टीलाई नयाँ ऊर्जाका साथ अघि बढाउन र तल्लो तहसम्म सांगठनिक गतिशीलता पैदा गर्न यो अपानीले महत्त्वपूर्ण मार्गनिर्देश गर्ने एमालेले जनाएको छ।
जिल्ला इन्चार्ज तोकिएका नेताहरुलाईसमेत पालिकाको जागरण अभियानमा सहभागी गराइएको छ’ एक सचिवले भने ‘अन्यथा एक जना केन्द्रीय सदस्यलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिँदै जागरण अभियानमा केन्द्रित हुन भनिएको छ ।’
पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसङ्गठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको हो ।
केन्द्रीय सदस्यहरू मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ ।
एमालेले गरेको कार्यविभाजन अनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरुको संयोजनको जिम्मेवारी दिइएको छ ।
नौ मध्ये छ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । कोशीका मूख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ ।
अन्य सचिवहरु छविलाल विश्वकर्मालाई इन्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इन्चार्ज, ,यमलाल कँडेललाई कर्णाली इन्चार्ज,शेरधन राईलाई कोशी इन्चार्ज,राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ ।
प्रतिक्रिया