×

१ वैशाखमा  दोस्रो संस्करणको ओशो महोत्सव हुने  

images


काठमाडौं । वैशाख १ गते अर्थात् नयाँ वर्षमा ध्यान र साधनाको महोत्सव ‘ओशो महोत्सव’ हुने भएको छ । 

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मार्फत ओशो तपोवनले काठमाडौंको ठमेलमा यही वैशाख १ गतेदेखि महोत्सव गर्न लागिएको जानकारी दिएको हो । 
पत्रकार सम्मेलनमा ओशो तपोवनका प्रवक्ता निरञ्जन भण्डारीले, नेपाली नयाँ वर्षलाई फरक ढङ्गबाट स्वागत गर्ने उद्देश्यले काठमाडौँको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरी मनाउने जानकारी दिएका हुन् ।

उनले भने ‘नयाँ वर्षलाई फरक ढङ्गबाट स्वागत गर्ने उद्देश्यले ओशो महोत्सवको आयोजना गरिएको हो ।  ओशो महोत्सव सङ्गीत र नृत्यको महोत्सव हुने छ । साथै साहित्य र अध्ययनको महोत्सव बन्नेछ । त्यस्तै, यो महोत्सव हास्यको महोत्सव हुनेछ । त्यति मात्र होइन यो महोत्सव स्वादको समेत महोत्सव हुनेछ । किनकि ओशो महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, फिलिङ्गा मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसन लगायतको सँगालो रहनेछ ।’
त्यसै गरी महोत्सवका संयोजक भवन भट्टले शारीरिक तथा मानसिक तनाव, हतासा, विषादका कारण दिनानुदिन बिग्रँदै गएको मानव स्वास्थ्यप्रति जागरूक रहन महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

उनले भने ‘शारीरिक तथा मानसिक तनाव, हतासा र विषादको कारणले दिनानुदिन बिग्रिँदै गएको हाम्रो स्वास्थ्यप्रति जागरूक रहन र नेपाली समाजलाई योग र साधनाका निरापद् माध्यमबाट जोडी एक समृद्ध मनुष्य निर्माणमा यो महोत्सवले अहम् भूमिका खेल्ने छ । ’
महोत्सव बिहान ९ बजे देखि राति ९ बजे सम्म चल्ने  बताइएको छ । 

महोत्सवमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, विशिष्ट व्यक्तिहरू, दर्जनौँ कलाकार, सञ्चारकर्मी, स्वदेशी तथा विदेशी ओशो प्रेमी र दर्शकहरू सहभागी हुने आयोजकको भनाई छ ।

महोत्सवका क्रममा एकै साथ ५० हजारले ध्यान र उत्सव गर्ने तपोवनको अनुमान छ । 
 

बुधबार १५ चैत २०७९ ०६:०० PM मा प्रकाशित

प्रतिक्रिया