काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अहिले भ्रष्टाचारको विरुद्धमा बोल्नै नसकेको टिप्पणी गरेका छन् । उनले कांग्रेसले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँधमा बोकेर हिँडिरहेको टिप्पणी गरे ।
जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन । तेल एकातिर पानी अर्कोतिर भयो । मिक्स अप नै हुन सकेन हुनै दिइएन । प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे । आफ्नो पार्टी जीवितै राखिरहे ।’
प्रचण्डले एमालेको खाएको तर हिसाबकिताब नबुझाएको ओलीको अर्को आरोप थियो । ‘उनले पार्टीमा हिसाबकिताब बुझाएनन् । एमालेको रकम लिए । एमालेकाे रकममा चले । एमालेको रकम खाए, पिए सबै गरे । तर, एमालेमा एक पैसा दाखिल गरेनन् । हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिला गरेनन् । बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् । सबै आफैंसँग राखे’, ओलीले भने ।
कार्यक्रमलाई सम्वोधन गर्दै उनले अहिले कांग्रेस दुर्गतिको बाटोतर्फ अघि बढेको आरोप लगाए । उनले थपे,‘भाग्यमा छ भन्दैमा डोकामा दूध दुहेर अडिँदैन । जितिहालिन्छ भनेर उपरखुट्टी लगाएर बस्ने हो भने हामी कांग्रेसकै हालतमा पुग्छौं ।
अहिलेको कांग्रेस हेरे हुन्छ, कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति। माओवादीको ढाकर बोक्या हेर त ! कांग्रेसको दुईपट्टि प्रचण्ड टिलिक्क परेका जुत्ता लगाएका खुट्टा झारेर कांग्रेसको कानमा समातेर हट हट गर्दै कसरी हिड्या छन् ? कांग्रेस लुरुलुरु ! कांग्रेसको थियो अलिकति । तर, अब कठैबरा मात्र भन्न सकिन्छ । अरु के गर्नु ?
प्रतिक्रिया