×

प्रधानमन्त्री निवास निल्न खोल्नेहरु पक्राउ पर्न थालिसके, विकृति विरुद्धको लडाइँ यतिमै सकिदैन- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बन्नु अघि नेपालको अर्थतन्त्र जर्जर अवस्थामा रहेको उल्लेख गर्दै दाहालले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै धराशायी हुन्छ भन्ने भाष्य चिरेर अगाडि बढ्न आफु सफल भएको दाबी गरेका छन् ।

साथै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले सुशासनको पक्षमा अभियान नै छेडेको बताएका छन्। 

उनले भने,‘सदनले मलाई सरकारको नेतृत्व दिँदैगर्दा देशमा गम्भिर आर्थिक संकटको स्थिती र एउटा भाष्य बनेको थियो। नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो। यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन। आम नागरिकसम्म पनि पुगेको थियो। श्रीलंकाको तस्बिरले आम नागरिकलाई त्रसित बनाएको थियो। तर, हामीले त्यस्तो हुन दिएनौं। अर्थतन्त्र जागिसकेको छ। यो राष्ट्रकै उपलब्धि हो। 

‘मैले संसद्मा संकल्प गरेको थिएँ सुशासन सरकारको प्रतिबद्धता हुने छ। जनतामा राज्य र सरकारप्रति निराशा असन्तोष र आवेग थियो अहिले त्यसमा सुधार भएको छ’, उनले भने, ‘जनतामा राज्य र सरकारप्रति भरोसा बढेको छ। हाई प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने भ्रम तोडिएको छ।’

उनले नक्कली शरणार्थीको फाइल खोलेर कानुनबाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश दिएको पनि बताए।  ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनको सर्वोच्चता स्थापित भएको छ। लोकतन्त्रमा उब्जिएको समस्याको समाधान लोकतन्त्रबाटै हुन्छ’, उनले भने, ‘उच्च पदस्थहरु कानुनमाथि छन् भन्ने गलत भएको छ। लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सुरु भएको छ।’

उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निल्न खोज्नेमाथि कारबाही थालिएको पनि बताए।  ‘मलाई अझै बढी समर्थन चाहिएको छ। यो लडाइँमा सदन र आमजनताको पनि हौसला र सहयोग मिल्नेछ’, उनले भने, ‘कुनै पनि मूल्यमा विकृतिविरुद्धको यो लडाइँ अघि बढाइनेछ।’  विकृत्तिको अन्त्य गर्न सदन र जनताको साथ आफूलाई चाहिएको बताए।

बुधबार १३ असार २०८० १२:३२ PM मा प्रकाशित

प्रतिक्रिया