×

सूर्यलाई अर्घ दिँदै चैती छठ समापन  

images


वीरगंज । महोत्तरी, जनकपुर, वीरगंज लगायत मिथिलाञ्चलमा आज(मंगलवार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न भएको छ । चार दिनसम्म मनाइने यो

पर्वको अन्तिम दिन तराईका विभिन्न जिल्लास्थित जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छट समापन हुने गर्छ । 

विशेषगरी, तराई क्षेत्रमा मनाईने चैती छठ मनाउन पर्सा, जनकपुर, महोत्तरी लगायत जिल्लाका पोखरी, तलाउ र नदीमा पुगेर नुहाउने चलन छ । शरिर शुद्ध बनाएर उदाउँदो सूर्यलाई अर्घ दिइपछि छठ समापन हुने गर्छ । बिशेषगरी मिथिलाञ्चलभित्र पर्ने जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास लगायत सहरी तथा ग्रामीण क्षेत्रस्थित पोखरी र नदी किनारमा ब्रतालुको घुइँचो लाग्ने गर्छ ।  

छठ मनाउँदा पारिवारिक सुख र शारीरिक कल्याण हुने जनविश्वास रहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन बर्तालुले नहा खा अर्थात् नुहाएर शरिर चोख्याउने गर्छन् । पर्वको दोस्रो खरना मनाइन्छ । खरनाका दिन ब्रर्तालुले दिनभरि निराहार उपवास बस्छन् । राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरि बिना नुनको खानेकुरा खाने गर्दछन् । 

त्यस्तै, षष्ठीका दिन अस्ताउदो सूर्यलाई अर्घ दिने चलन छ । अर्घ दिन ब्रतालुहरु साँझ अस्ताउँदो सूर्यको प्रतिक्षामा बस्ने गर्छन् । सूर्य अस्ताउन एक घण्टा अघिबाटै ब्रतालु पोखरीमा प्रवेश गर्छन् । सोहीक्रममा षष्ठीमाताको ध्यान गरी सूर्य देवलाई अर्घ चढाउँछन् ।  अर्घमा मुला, उँखु ,भाण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका फलफुल चढाउने गरिन्छ । अस्तोउँदो सुर्य अर्घ चढाएपछि ब्रतालु रातभर निराहार बस्ने गर्छन् । चैत्र शुक्ल सप्तमीका दिन भने उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन हुने गर्छ । सूर्य उपासना परम्पराको मौलिक पद्धति मानिएको हिन्दु परम्परामा चैती छठ यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । 

मङ्गलबार १४ चैत २०७९ ११:४० AM मा प्रकाशित

प्रतिक्रिया