×

पर्यटनको विकास गर्न दक्ष जनशक्तिको आवश्यकता छ -- प्रधानमन्त्री प्रचण्ड

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै पर्यटनको विकास गर्न दक्ष जनशक्तिहरु आवश्यक भएको बताएका छन् । 
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले नेपाल सरकारको तर्फबाट दक्ष जनशक्ति निमार्णमा आवश्यक सम्पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 
‘देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरु देशका सबै क्षेत्रहरुमा विकास गर्न एकदम जरुरी भइसकेको छ । त्यसका लागि नेपाल सरकारको तर्फबाट यस संस्थालाई आवश्यक सम्पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दछु । ’
उनले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका प्रतियोगितात्मक क्रियाकलाप र शिक्षणमा केन्द्रित हुन आग्रह गर्दै व्यक्तिगत र नेपाल सरकारको तर्फबाट हरकिसिमको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 
उक्त संस्थालाई आवश्यक पर्ने ऐन संसदबाट अनुमोदन गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन पनि गरेका छन् । 
उनले शैक्षिक संस्थाहरु केबल विद्यार्थी उत्पादन गर्ने थलोको रुपमा मात्र सीमित भएको भन्दै नाथमलाई उद्योगलाई चाहिने नयाँ सोच निकाल्ने थलोको रुपमा विकास गर्न आग्रह गरेका छन् ।
त्यसैगरी नेपालका ७५३ वटै स्थानीय सरकारहरुसंग समन्वय गरी त्यहाँको पर्यटन विकासका लागि नाथमको विज्ञता प्रयोग गरी अगाडि बढ्न नाथमको कार्यक्रमलाई थप सुदृढ गर्न नाथम सञ्चालक समिति र कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । 

मङ्गलबार १४ चैत २०७९ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया