×

अभिनेत्री शिल्पाले निर्माता छविको आधा सम्पति पाउने

images

काठमाडौंँ । अभिनेत्री शिल्पा पोखरेलले पछि छविराज ओझा विरुद्धको मुद्दा जितेकी छन।   चार वर्षदेखि अदालतमा रहेको अभिनेत्री पोखरेल र निर्माता  ओझाको सम्बन्ध विच्छेद मुद्दाको किनारा लागेको हो। 

आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दामा सुनुवाइ गर्दै अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो। साथै, अंशबण्डा नभएसम्म मानापाथी भर्न समेत ओझालाई आदेश दिएको छ।  अब छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्नेछ भने छविसँग हुँदा लागेको ऋणको आधा हिस्सा पनि शिल्पाले व्यहोर्नुपर्नेछ ।

छविको सम्पत्ति र ऋणको पनि सबै लेखाजोखा भैसकेको छ । छविले अदालतसमक्ष २० करोड भन्दा बढी ऋण देखाएका छन् । छविको आधा सम्पत्तीबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउनेछिन् । शिल्पासँगको तीन बर्ष पुरानो मुद्दा फैसला भएको छबिले बताए । ‘अदालतले श्रीमती भएपछि आधा सम्पत्ति दिने फैसला सुनाएको छ । फैसलाको पूर्णपाठ आउन बाँकी छ’ छविराजले भने, ‘अदालतको फैसला मानेर शिल्पासँग सल्लाह गरेर अगाडि बढ्छु ।’

न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो। तर अदालतले छविकी जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा र छोरा साकार सुनारलाई प्रतिवादी बनाउँदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्दालाई खारेज गरेको छ।  जिल्लामा मुद्दा हारेका छविराज ओझा शिल्पासँगको छलफलपछि उच्च अदालत जाने नजाने निर्णय गर्ने बताए ।

शिल्पाले फैसलाको समाजिक संजालबाट खुसी समेत ब्यक्त गरेकी छन् । चार वर्ष खेपेको मुद्दा मामिलाले आफूलाई धेरै तनाव दिएको शिल्पाले बताएकी छिन्। उनले यो समय झण्डै झण्डै डिप्रेसनमा पुगेको बताएकी छिन्। करिअरको उर्जावान ४ वर्षको समय खेर गएकोमा भन्दा शिल्पालाई यो समय परिवारका मान्छेले गरेको जालसाझीले धेरै दुखेको छ। 

उनी भन्छिन्, ‘कस्तो–कस्तो अवस्थाबाट मलाई कसरी कसरी मेरो परिवारले बाहिर निकालेको छ, त्यो त मलाई मात्र थाहा छ। कस्तो कस्तो केशहरु हालियो, विवाह नै बदर बनाउनेदेखि लिएर धेरै कुराहरु गरियो। डिभोर्स, बहुबिवाह, अंशभन्दा पनि साना साना केशहरु त कति जितियो, जितियो यो चार वर्षको अवधिमा।’ 
 

मङ्गलबार १६ फागुन २०७९ १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया