×

चर्चित मोडलको निर्ममतापूर्वक हत्या, फ्रिजमा भेटिए शवका टुक्रा

images

काठमाडौं । हङकङमा एक चर्चित मोडल एबी चोइका पूर्व श्रीमानले उनको हत्या गरेर शवको टुक्रा टुक्रा पारेका छन् । प्रहरीले घरको फ्रिजबाट एबीको काटिएको खुट्टा भेटेका छन् । शवको अरू टुक्राको खोजी भइरहेको छ । मासु काट्ने चक्कु, इलेक्ट्रिक कटर र केही कपडा पनि बरामद गरिएको छ । 

मंगलबारबाट हराइरहेकी चोइको शव टुक्राटुक्रा पारिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। लुङ मेइ स्युनस्थित तीन तले घरको भुइँ तलामा उनको शव फेला परेको थियो। तर, उनको टाउको, शरीर र हात अझै फेला परेको छैन। 

२८ वर्षकी चोई २२ फेब्रुअरीदेखि हराइरहेकी थिइन् । प्रहरीले २४ फेब्रुअरीमा उनको घरको तलासी गर्‍यो । यति बेला फ्रिजबाट उनको काटिएको खुट्टा भेटियो । हत्याको आरोपमा २५ फेब्रुअरीमा एबीका पूर्व श्रीमान्‌लाई पक्राउ गरिएको छ । उनलाई सोधपुछ गरेर शवको अन्य टुक्राको खोजी भइरहेको छ ।

प्रहरीले एबीका पूर्व पति एलेक्स क्वाङका साथै उनका आमा–बुवा र भाइलाई पनि पक्राउ गरिएको छ । प्रहरी अधिकारी एलन चुङले भने, ‘हामी सहरको बाहिरी इलाकामा रहेको एक घरको तलासी लिन पुगेका थिए । यहाँ हामीले एबीको परिचय पत्र, क्रेडिट कार्ड र उनका अन्य सामान भेटेका छौँ । हामीले थप अनुसन्धान गर्दा फ्रिजमा उनको काटिएको खुट्टा भेट्यौँ ।’

प्रहरीका अनुसार यो हत्या सुनियोजित थियो । प्रहरी अधिकारी एलन चुंगले भने, ‘घरमा छिर्ने बित्तिकै हामी कुनै अपराध स्थलमा थियौँ भन्ने आभास भइसकेको थियो । हामीले घरमा यस्ता थुप्रै चिज भेटेका छौँ जुन हेर्दा यो नियोजित हत्या थियो भन्ने बुझिन्छ । घरका भित्ता कपडाले ढाकिएका थिए । भित्तामा रगत नलागोस् भनेर यस्तो गरिएको थियो ।’

उनले थपे, ‘यसबाहेक हामीले फेस सिल्ड, रेनकोट, पन्जा पनि भेटेका छौँ । यो यस्ता चिज हुन् जसमा लागेको रगत निकै सजिलै सफा गर्न सकिन्छ । हामीले सुप पकाउने भाँडोमा मानव टिस्यु पनि भेटेका छौँ । घरमा कुनै फर्निचर पनि थिएनन् । यहाँ मानव शरीर काट्नका लागि थुप्रै उपकरण पनि थिए । घर किन्न पनि यस्ता मानिसहरूले सहयोग गरे जसको क्रिमिनल रेकर्ड छ ।’

आरोपी पूर्व श्रीमान् भाग्ने योजनामा थिए । उनी समुद्री बाटो हुँदै भाग्ने योजना बनाइरहेको प्रहरीले जानकारी दिए  । चुंगले भने, ‘एबी चोई र पूर्व श्रीमान् एलेक्स क्वाङबीच पैसाको विषयमा विवाद थियो । घटनाको अनुसन्धान भइरहेको छ ।’

प्रहरी अधिकारीले शुक्रवार हङकङकाे ताई पो गाउँबाट शवको टुक्रा भेटिएपछि अनुसन्धान गर्ने क्रममा यस घटनाबारे पर्दाफास भएको हो । यो फ्रिज गाउँकै एउटा घरमा राखिएको थियो ।

यस घरबाट अन्य सामान पनि बरामद भएको प्रहरी उपरीक्षक एलन चुङले शनिबार जानकारी दिए । यसमा मासु ग्राइन्डर, आरा, रेनकोट, पन्जा र मास्क समावेश छ। अनुसन्धानमा, यो पत्ता लाग्यो कि एबी चोईको आफ्नो पूर्व पति र उनको परिवारसँग आर्थिक विवाद थियो।

प्रहरीले उनको हत्या योजनाबद्ध रुपमा भएको बताएको छ। १० करोड डलर मूल्यको फ्ल्याटका विषयमा किचलो भएपछि पूर्वससुराको डिजाइनमा सो हत्या भएको प्रहरी स्रोतको भनाइ छ।

उनका पूर्व ससुरा पूर्व प्रहरी पनि हुन्। शव फेला परेको घर उनैले यही महिना भाडामा लिएका थिए। प्रहरीले नभेटिएको शरीरका अंगहरुको खोजी गरिरहेको छ। जसमा एक सयभन्दा बढी व्यक्ति खटाइएको छ। 

 

मङ्गलबार १६ फागुन २०७९ ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया