×

ललिता निवास जग्गा प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार सहित ७ जना पक्राउ, प्रहरीको अपरेसन जारी

images

काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान कार्यलाई थप तीब्रता दिएको छ। सिआइबीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह सहित अन्य चार जनालाई समेत पक्राउ गरेको छ। 

पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारीहरू रहेका छन्। मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम पूर्व खरिदार गोपाल कार्की र भुपेन्द्रमणि केसीलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। 

२०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए‍। सीआईबीले मंगलबार बिहानदेखि चलाएको सर्च अपरेसनका क्रममा अहिलेसम्म यो प्रकरणमा ७ जना हिरासतमा परिसकेका छन्। 

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङबाट सुरु भएको पक्राउ श्रृंखला डिल्ली बजार मालपोतका कर्मचारी हुँदै बिचौलियासम्म पुगेको हो। सीआईबीको अपरेसन जारी रहेकाले यसमा मुछिएका अन्य अभियुक्तहरु पनि पक्राउ पर्ने सम्भावना बढेको छ। भाटभटेनीका गुरुङले उक्त जग्गामा लगानी गरेका थिए। त्यो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन्। 

त्यस्तै पक्राउ परेका अन्य २०४९ सालदेखि २०६६ सालमा झन्डै १७ वर्ष सरकारी सेवामा रहँदा ले भूमिसुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय कार्यरत थिए। ललिता निवासको सरकारी जग्गा ती कर्मचारीहरुसँगको मिलेमतोमा राजनीतिक नेतृत्वदेखि अन्य पहुँचवालाले हडपेका थिए। 

मालपोत कार्यालयका कागजपत्र किर्ते गरेर सरकारी जग्गा हडपिएको यो प्रकरण लामो समय सेलाएपछि सरकारले फेरि ब्यूँत्याएर अनुसन्धान अघि बढाएको हो। यस प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेकै थियो। थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सिआइबीले यस प्रकरणमा अनुसन्धान गरी २०७८ पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भनेर फिर्ता पठाएको थियो। 

मङ्गलबार १२ असार २०८० ०२:५७ PM मा प्रकाशित

प्रतिक्रिया