×

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरूलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान

images

 एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ । एनसेलको मुख्य कार्यालय 'एनसेल आइकन' लैनचौरमा गएकाे बुधवार आयोजित एक कार्यक्रमका बीच छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।  

२०७१ सालदेखि सुरु गरिएको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ । 

यस वर्षका लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याइ यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मानप्रदान गरिएको छ । 

इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. डा. शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरूपमा विद्यार्थीहरूलाई सम्मान प्रदान गरेका थिए ।

त्यसैगरी एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशालमणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तीय अधिकारी अनुपम भाटले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

कोभिड–१९ महामारीका कारण गएकाे वर्ष सम्मानको कार्यक्रम आयोजना गर्न नसकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८  जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाणपत्र पनि प्रदान गरिएको छ । गएकाे वर्ष कार्यक्रम आयोजना गर्न नसकिए पनि यस कार्यक्रम अन्तर्गतको छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको नगद पुरस्कार भने इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमार्फत विद्यार्थीहरूलाई प्रदान गरिएको थियो ।

इन्जिनियरिङ अध्ययन संस्थानका डिन जोशीले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमका लागि एनसेलसँग सहकार्य गर्न पाएकोमा निकै खुसी छौँ भन्नुभयाे । 

यसैगरी एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेकाे बताउनुभयाे । 

एनसेल छात्रवृत्ति इन्जिनियरिङ पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँच वटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् ।

यसैगरी उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका एक/एक जना र यी पाँचै संकायका छात्राहरू मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछिन् । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । 

शुक्रबार​ १३ जेठ २०७९ ०२:३४ PM मा प्रकाशित

प्रतिक्रिया