सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस सबै तहका जनता अटाउने पार्टी भएको बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले ‘सबै नेपाली अटाउने देशवासीको साझा घर कांग्रेस हो’ भन्नुभयो । कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारणले कसैलाई कुनै किसिमले विभेद नगर्ने मन्त्री कार्कीले नवप्रवेसीलाई विश्वास दिलाउनुभयो ।
पार्टीमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताको योग्यता, योगदान र क्षमताको यो पार्टीले मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले राजनीतिक केवल सपना देखाउने, विकासको अश्वासन बाँड्ने विषयवस्तु नभएको स्पष्ट पार्नुभयो । मन्त्री कार्कीले जनताको अधिकारको रक्षा गर्ने, जनताको समग्र विकासमा र समाज तथा देशको उन्नतितर्फ अग्रसर गराउने कांग्रेस भएको दाबी गर्नुभयो । जनताको आस्था र विश्वासको धरोधर कांग्रेस सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी भएको मन्त्री कार्कीले बताउनुभयो ।
कार्यक्रममा २०७४ सालको स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालबाट कोसी–७ का वडाध्यक्षमा निर्वाचित रामचन्द्र मेहतासहित ३५७ जनाले विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई मन्त्री कार्कीसहित कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुब अन्सारी, पार्टीका सदानन्द मण्डल, सुलेमान मन्सुरी, अनितादेवी यादव, मोहन झासहितका नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया