×

सुदूरपश्चिममा डेङ्गु : आठ सय बढी सङ्क्रमित

images

महेन्द्रनगर (कञ्चनपुर), ९ असोज : बितेका आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा गरी गरी तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । “तथ्याङ्कअनुसार यहाँ गत माघयता आठ सय ७७ जनामा सङ्क्रमण देखिसकेको छ ।” जोशीले भन्नुभयो, “तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण हुँदै आएको छ ।”

यहाँ सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लाका स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

यहाँ गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेङ्गुको सङ्क्रमण यस पटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले डेङ्गु रोकथाम र सचेतना अभियान नौवटै पालिकामा सञ्चालनमा रहेको बताउनुभयो । “कञ्चनपुरमा सङ्क्रमितमध्ये ८५ प्रतिशत भीमदत्त नगरपालिकामा प्रभावित छन्”, उहाँले भन्नुभयो, “भीमदत्तका १९ वटै वडामा रोकथामका लागि सक्रियता बढेको छ ।”

उहाँले वडा वडामा माइकिङ गर्ने, जोगिने उपायबारे नागरिकलाई जानकारी गराउनेलगायत काम चलिरहेको बताउनुभयो । “स्थानीय तहसँग मिलेर ‘लार्भा खोज, नष्ट अभियान’ पनि सबै पालिकामा सञ्चालन गरेका थियौँ”, उहाँले भन्नुभयो, “पानी पर्ने क्रम चलिरहेकाले अझै यसको जोखिम कायम छ ।” उहाँले यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट पनि नौवटै पालिकालाई पत्राचार भएको जानकारी दिनुभयो ।

मङ्गलबार ९ असोज २०८० ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया