×

प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य तीव्र, मिति सार्वजनिक हुँदै

images

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारी तीव्र भएको छ। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि हुने लागेको पहिलो विदेश भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू संलग्न छन्।

यसका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पनि सक्रिय भएको छ। भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले बिहीबार भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करसँग भेटवार्ता गरेका छन्। भ्रमणको सम्भावित मिति जेठ १७ देखि २० गतेसम्म तय भएको छ तर अर्को मिति त्यसैमा भ्रमण तालिका मिलाउने वा अर्को मिति तय गर्ने भन्ने विषयमा दुई देशका परराष्ट्र मन्त्रालयबिच आपसी समन्वय गर्ने काम भइरहेको छ।

आसन्न भ्रमणलाई फलदायी बनाउने गरी भारतसमक्ष उठाइने कार्यसूचीका विषयमा पनि सबै मन्त्रालयका पदाधिकारीसँगको छलफल लगभग सकिएको छ। त्यसको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गरेका छन्। उनले अर्थ, गृह, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटनलगायतका दुई पक्षीय परियोजनामा सम्बद्ध मन्त्रालयबाट आवश्यक कार्यसूचीको खाका गतसाता नै सङ्कलन गरिसकेका छन् ।

प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारी अन्तिम चरणमा रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार तयारीका व्रmममा दुई देशबिचको एजेन्डालाई अन्तिम रूप दिने कार्य, भ्रमण टोलीमा सहभागी हुनेको नामावली तय गर्ने कार्यमा अन्तिम छलफल चलिरहेको छ। भ्रमणको मिति तोक्ने सवालमा दुवै देशले एकै दिन एकै समयमा सार्वजनिक गर्ने नीति अनुसार शनिबार घोषणा गर्ने तयारी रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

शुक्रबार​ १२ जेठ २०८० ०८:२५ AM मा प्रकाशित

प्रतिक्रिया