×

गठबन्धनका उपप्रमुख श्रेष्ठको उम्मेदवारी रद्द

images

कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ । उहाँको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको हो ।

उहाँले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको थियो । आज मुख्य निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले एक सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता हुन नसकेको जानकारी दिनुभयो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई वडाध्यक्षसहित छ वडा सदस्य र नेपाली कांग्रेसको एक वडा सदस्यको पनि उम्मेदवारी दर्ता भएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमलामाई–४ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका विष्णुकुमार श्रेष्ठको प्रस्तावकको विवरण नभिड्दा उमेदवारी दर्ता भएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नं ११ मा वडाध्यक्षमा उम्मेदवारी दिनुभएका मेमबहादुर ठकुरीको पनि सर्मथकको विवरण नभिड्दा उम्मेदवारी दर्ता भएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्य पदमा वडा नं २ मा सदस्यमा उम्मेदवारी दर्ता गराएका सोमाया सार्की, वडा नं ११ मा वीरबहादुर माझी, वडा नं १२ मा वडासदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएका ढालबहादुर विक, वडा नं १ का लक्ष्मण सुनुवार, वडा नं १० मा वडासदस्य पदमा उम्मेदवारी दिनुभएका उज्ज्वल कोइराला र वडा नं ४ मा मान्दोसिं भोलनले दिनुभएको वडासदस्य पदको उम्मेदवारी प्रस्तावक र समर्थकको विवरण नभिड्दा दर्ता भएको छैन ।

यस्तै नेपाली कांग्रेसबाट वडा नं ९ मा वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका टीकाप्रसाद घिमिरेको पनि प्रस्तावकको विवरण नभिड्दा उम्मेदवारी दर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

मङ्गलबार १३ बैशाख २०७९ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया