×

थिमिमा पायो जात्रा मनाइयो

images


भक्तपुर, ८ कात्तिक ः मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरुभएको थियो । कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दशैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । 

    नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो । आज एकादशीका दिन तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुखुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके र राजोपाध्यायसहितको संलग्नतामा जात्रा निकाल्ने गरिन्छ ।  

बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले काटेका थिए । कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुख शान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहि आएको छ

बुधबार ८ कात्तिक २०८० ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया