×

रवीन्द्र मिश्रको दाबीमा प्रचण्ड सचिवालयको खण्डन, भन्छन्- गणतन्त्रको नायक प्रचण्ड नै हुन्

images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताए । 

प्रचण्ड सचिवालयले भने मिश्र आफैंले राखेको निजी विचारलाई प्रचण्डको विचार भन्दै टिप्पणी गरेको भन्दै खण्डन गरेको छ ।  ‘उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन’, सचिवालयले विज्ञप्तिमार्फत भनेको छ ।

सचिवालयले पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारेबारे जनतामा भ्रम नरहेको भन्दै विज्ञप्तिमा भनेको छ, ‘यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?’

यस्तो छ  विज्ञप्ति

हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्र जीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको छ।
जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नु भयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ। उहाँका विचार भनेर मिश्र जी ले समय सन्दर्भबाट कटाएर  आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।
पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा होलान् र मिश्र जी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि? 
- सचिवालय 

मिश्रले यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट बारे गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेपछि गणतन्त्रको नायक प्रचण्डनै भएको बताएका हुन् । साथै मिश्रले कांग्रेस, एमाले र नागरिक समाज प्रचण्डका पथगामी भएको टिप्पणी समेत गरेका छन् ।

आफ्नो अघिल्लो टिप्पणी प्रचण्ड पक्षले खण्डन गरेपछि मिश्रले भनेका छन्  –

ठूला नेताहरूसँग भेट्दा ‘यो कुराचाहिँ बाहिर नगरौँ र हामी बीचमा रहोस्’ भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।’

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। कांग्रेस र एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै प्रचण्ड पथगामी’ हुन् ।नेपालको संविधान २०७२ वास्तवमा ‘प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु।’

त्यसैले ठूला पार्टीहरूलाई आआफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु।

 

बुधबार ९ असोज २०८१ १२:०१ PM मा प्रकाशित

प्रतिक्रिया