बेरङ्ग

    images

    च्याहाँ च्याहाँबाट सुरु भएको सफेद बेरङ्ग जिन्दगी
    रङ्गहिन बेरङ्ग भित्र
    म देख्न सक्छु
    उनको  छचल्किरहेको निश्चलता
    देख्न सक्छु म बेरङ्ग भएर पनि रङ्गीन उनको पवित्रता..!!

    उनि बेरङ्ग जन्मिएकी थिईन
    रङ्गीईन थाल्छिन् उनि अब लैङ्गिक विभेदको रङ्गमा
    हतास ती नयनहरु 
    म देख्न सक्छु
    एकाएक निराशामा परिणत भएका
    अब उनि छोरीको रङ्गमा जो रङ्गीएकी छिन्..!!

    ताते-ताते बामे सर्दै
    सर्छन् उनका पाईलाहरु दिनप्रतिदिन
    स्वछन्द उनका आँखामा 
    म देख्न सक्छु
    अजम्बरी खुशी 
    र देख्न सक्छु एकाएक आश्चर्यका भावहरू
    उनि बिस्तारै रङ्गीईन जो थालेकी छिन्
    जातीय रङ्गमा...!!

    झ्यालबाट अटसमटस ठेलमठेल गर्दै प्रबेश गरी
    बिहानीमा उनलाई स्पर्श गरेर ब्युँझाउने सूर्यका 
    किरणलाई पर्दा लगाईएको छ
    सङ्कोचपूर्ण,त्रासपूर्ण उनका मनोभावहरु
    म देख्न सक्छु
    थुनिएका चार दिवारभित्र 
    उनि नारीत्व (मासिक धर्म)को प्रथम
    रातो रङ्गमा जो रङ्गिएकी छिन्...!!

    उनि सफेदबाट रङ्गिदै आएकी छिन्
    बाँकी नै छन् कायौं रङ्गहरू
    रङ्ग्याईनको  निम्ति
    म देख्न सक्छु
    कुरीति,
    अन्धविश्वास,
    आलोचना,
    आक्रोशका  रङ्गहरु बटुलेर 
    रङ्ग्याउन प्रतीक्षारत यी समाज...!!

    सपनाको डोरी बाटी
    उडान भर्न तम्तयार उनका प्रगतिका पखेटाहरु
    म देख्न सक्छु
    एकाएक खुम्चिएका परिधिभित्र
    उनि अझै रङ्गीन बाँकी जो छिन्
    शोषणीक,
    बलात्कारीक मानसिकताको रङ्ग बोकेर बसेका
     नपुंशकको रङ्गमा...!!

    गुलाबको रातो रङ्गमा 
    खुशीको ज्वारभाटा उठ्ने
    उनको ओठलाई 
    खुम्चिएर रहन मञ्जुर छ,
    छैन मञ्जुर खुशीले तन्किन
    किनकि
    म देख्न सक्छु रातो रङ्गहरुदेखि
     अवाक उनका नयनहरु...!!

    लमतन्न बिछ्याइएका तन्ना जस्तै 
    ती विशाल निला गगनमा
    सपनाको डोरी बाटी
    झुम्ने उनको मन
    देख्न सक्छु म
    निलो रङ्गहरुप्रती 
    आक्रोशित उनको आघात मन...!!

    देखावटी प्रेमको रङ्ग,
    कुरुपताको  रङ्ग,
    हिंसाको रङ्ग,
    अन्धविश्वासको रङ्ग,
    विभेदको रङ्ग,
    दमनको रङ्ग....देखि
    म देख्न सक्छु 
    क्रन्दनमा उनका मनोबलहरु काली बनेर 
    ताण्डव गर्न तम्तयार...!!

    समाज,समाजका परीबन्धकहरु
    रङ्ग्याई रहेछन् दिनानुदिन
    हजारौँ बेरङ्गीनहरुलाई
    उनलाई अब कालीको रङ्गमा रङ्गीएर
    ताण्डव गर्नुछ
    खुम्चिएका आयतनबाट तन्किएर विशाल नक्षत्र हुनुछ
    नरसिंह बनेर रङ्गीन हिरण्यकश्यपहरुको छाती चिर्नुछ
    तत्पश्चात देख्न सक्छिन् उनी बेरङ्गीन ईन्द्रधनुष
    अनि छुन सक्छिन् उनि स्वच्छन्दता,
    स्वाधिनता,
    स्वतन्त्रता,
    अनि प्रगतिका आइफिल टावर...!!

                                                                सरस्वती
                                                                (सारती)

    मङ्गलबार ९ साउन २०८० १२:१४ PM मा प्रकाशित

    प्रतिक्रिया