×

वाग्ममती सफाइ महाअभियान ४७६औँ हप्तामा

images

राजधानी काठमाडौँ उपत्यकाको नदी सभ्यताको स्रोतका रूपमा रहेको वाग्मती सफाइ महाअभियानले ४७६औँ हप्ता पूरा गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको ४७६औँ हप्ताको अभियानका क्रममा आज तीनकुनेस्थित  वाग्मती पुल बुद्ध शान्ति विहारअघि सफाइ गरिएको छ । सफाइबाट साढे दुई टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नेपाली सेना कालीदल गणको सक्रियता रहेको उहाँले सुनाउनुभयो ।

यसैगरी आलोकनगर समुदाय, आलोकनगर मार्ग टोल सुधार समिति, नेपाल आमा सेवा समिति, सिद्धि विनायक शोभा भगवती लोकेश्वर महादेव मन्दिर व्यवस्थापन समिति, विनायक समाज आलोकनगर, सामुदायिक विकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र काठमाडौँ महानगरपालिका–३१ वानेश्वर, भिएस निकेतन माध्यामिक विद्यालय, रिद्धिसिद्धि डायग्नोसटिक एण्ड रिसर्च सेन्टर प्रालि मीनभवन, वाग्मती फोहोर उन्मूलन उपभोक्ता समिति, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वातावरण एवं कृषि विभाग टेकु, वाग्मती सफाइ अभियानकर्मीलगायत सफाइ महाअभियानमा सक्रियता रहेको जनाइएको छ ।

नौ वर्षअघिदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको भने हुनुपर्ने जति सहयोग नगरेको अभियानकर्मीको गुनासो छ । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि भने देखाएका छैनन् ।

स्थानीय तह निर्वाचनअघि सबै दलले जारी गरेको घोषणापत्रमा फोहर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका छन् । निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउत बताउनुहुन्छ । यसपटक फोहर व्यवस्थापन स्थानीय सरकारको प्राथमिकतामा पार्न निरन्तर खबरदारी गर्नुपर्ने उहाँले बताउनुभयो । जनप्रतिनिधिले निर्वाचनमा प्रतिबद्धता जनाउने तर निर्वाचित भएपछि बिर्सने गरेका छन् । यसले गर्दा जनप्रतिनिधिप्रति जनताको मोहभङ्ग हुन थालेको छ ।

शनिबार ११ असार २०७९ १०:०५ AM मा प्रकाशित

प्रतिक्रिया