×

दशैं बजारको चमक,  ‘छुटको नाममा लुट’

images

काठमाडौं । यतिबेला दशैं बजारले गमक्कै छोपेको छ । साना तथा ठूला सहरहरुमा भीडभाड बढ्न थालेको छ । काठमाडौं उपत्यका भित्र मात्र नभई देशभरका शहर बजारमा दशैंको मस्त चहलपहल छ ।

व्यावसायीहरुले छुटको अफर र नयाँ स्किमहरु सार्वजनिक गरिसकेका छन् । कतिपयले यही मौकामा स्टक क्लियर गर्न भन्दै हरेक सामानमा भारी छुट दिएका छन् । काठमाडौंका ठूला सपिङ मलदेखि सडकपेटीका फुटपाते पसलमा भीड जम्न थालिसकेको छ । काठमाडौंको भृकुटीमण्डको टहराभित्र र महाबौद्ध भित्र दशैंको लत्ताकपडा किनमेल गर्नेहरुको भीड थामिनसक्नु छ ।

राजधानी भित्रका दर्जन बढी सपिङ मलहरु रमझम देखिन थालेको छ । छुटको अफर सार्वजनिक गरेर पसलहरु रङ्गिएका छन् । विशेष गरेर लत्ताकपडा र जुत्ता–चप्पलमा २० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ ।

ब्राण्डेट फेसनका कपडा तथा जुत्ता–चप्पल पाइने दरबारमार्ग क्षेत्रका पसलहरुमा छुटै छुटको व्यापार सुरु भएको छ । दशैंको पूवसन्ध्यामा न्यूरोड, असन, गौशाला, चावहिल, बानेश्वर, कुमारीपाटी, लगनखेललगायतका क्षेत्रमा पनि छुटैछुटको व्यापार सुरु भएको छ ।

रत्नपार्क, कलंकी, कोटेश्वर लगायतका स्थानमा फूटपात व्यापार चम्किएको छ । यद्यपी, कतिपय छुट र सेलको नाममा उपभोक्ता ठगी गर्ने क्रम पनि बढेको गुनासाहरु आइरहेका छन् ।

सोर्‍हखुट्टेको फलफूल चोक स्थित आरोग्य कलेक्सनकी संचालिका जवा शिवाकोटी भन्छिन्, ठूला ब्यापारीक कप्लेक्सहरुमा छुटको नाममा लुट चलिरहेको हुन्छ तर उपभोक्ताले पत्तो नै पाउँदैनन्, ।’

उनले भनिन्, हामीले ल्याउने सामाग्री र मलहरुमा पाइने सामाग्री उस्तै हो, तर मूल्य मात्र आकाश–जमिनको फरक गरेर विक्री गर्ने गरिन्छ ।’

उपभोग्य सामाग्रीको मूल्य आकाशिए पनि न्यून र मध्यम बर्गीय परिवारसँग बचत रकम नहुँदा चाडवाडमा समस्या पर्ने गरेको छ । व्यापारीको चर्को मूल्य र बचतशुन्य रहेका वर्गलाई दशैं धान्न धौधौ परेको देखिन्छ ।

राष्ट्र बैंकको एक प्रतिबेदन अनुसार तीन वर्षमा मात्रै कुल २० प्रतिशतले महँगी बढेको उल्लेख छ । अचाक्ली महँगीका कारण सम्पत्तिमा वृद्धि नभएको वा बचत गर्न मध्यम वर्गलाई गाह्रो परिरहेको विश्लेषकहरुको बुझाइ छ ।

यता, चाडपर्वको मौका छोपेर ‘छुटको नाममा लुट’ गर्ने प्रबृत्ति बढ्दो छ । गत वर्षको तुलनामा यस वर्ष लत्ताकपडादेखि खाद्यान्नमा दोब्बरले मूल्यवृद्धि भएको सर्वसाधारणको गुनासो छ ।

व्यापारीहरुले भने सर्वसाधारणको बाध्यतालाई कमाउने मौकाकारुपमा लिने गरेका छन् । तर सरकारी अनुगमन फितलो हुँदा ‘लुट’ प्रबृत्ति भने नियन्त्रण हुन नसकेको सर्वसाधारणको गुनासो छ ।

किनकी व्यापारीहरुले बर्षौ सामाग्रीहरुको ‘स्टक क्लियरेन्स’ र मौकामा फाइदा उठाउने निहूँमा अलग्गै बील खडा गर्ने र नक्कली स्टीकर वा ट्याग लागेर सामान विक्री गर्ने गरेका छन् ।

हुनत यस वर्ष सरकारले हरेक सामानमा लगाएको करले व्यापारीलाई पनि सामान ल्याउँदा महँगो परेको र सर्वसाधारणलाई पनि महँगोमा नै बेच्नुपरिरहेको छ । 

शनिबार ८ असोज २०७९ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया