×

सल्यानमा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

images

छुट्टाछुट्टै घटनामा परी यहाँ तीन जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।     

बागचौर–६ मैढोले हुँदै जामुनेचौर जोड्ने सडक चौडा गर्ने क्रममा रा१क ७१९ नम्बरको स्काभेटर दुर्घटना हँुदा दाङको बबई गाउँपालिका–४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज खत्री र सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक खत्रीको घटनास्थलमै र सहचालक विकको उपचारका क्रममा सल्यान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका बागचौर–६ का धनबहादुर वलीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैबीच बिहे भोज खाएर घर फर्किने क्रममा एक शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ५४ वर्षीय शिक्षक शप्तप्रकाश मल्लको बिहे भोज खाएर घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहे भोज खान गएका मल्ल आज बिहानसम्म पनि घर नर्फकेपछि खोजी गर्दा मृतावस्थामा परिवारले फेला पारेका थिए । 

 मल्ल स्थानीय नव सर्वसाधारण मावि रातामाटामा कार्यरत भएको पारिवारिक स्रोतले जनाएको छ । शव परीक्षणका लागि सल्यान अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।

आइतबार​ ११ बैशाख २०७९ ०६:३० PM मा प्रकाशित

प्रतिक्रिया