×

बिहान खाली पेटमा यसरी खानुहोस्- दिव्या मित्तल, पोषणविद्  मिताहारा क्लिनिक 

images

 काठमाडौं । व्यक्तिअनुसार खानाको रुटिन फरक हुन्छ । कसैको त रुटिन नै हुँदैन । सबैले एउटै रुटिन फलो गर्नुपर्छ भन्ने पनि छैन । तर, हामीले केही आनिबानि जीवनसँगै जोड्न आवश्यक छ । हामी बिहान उठ्छौं । पेट खाली हुन्छ । त्यस्तो बेला पानी पिउन अत्यन्तै आवश्यक छ । पानी पिउने पनि तरिका हुन्छ । हामी उठ्नसाथ एकै पटक धेरै पानी पिउँछौं । त्यो स्वास्थ्यका लागि राम्रो होइन ।

यसो गरिँदा मृगौला बिग्रन सक्छ । धेरै पानी तर समय लगाएर पिउँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । ग्यास्ट्रिक भएका विरामीले बिहानै ज्वानो पिउँदा राम्रो हुन्छ । यसले ‘कन्टिपेसन’ पनि समाधान गर्छ । पेटभित्रको ग्याँस जम्मा गर्न दिँदैन । कसैलाई पाचन प्रणालीमा समस्या हुन्छ  । त्यस्ता बिरामीले जीरा, धनियाँ र अदुवा मिसाएर उमालेको पानी पिउँदा हुन्छ । यसले पाचन प्रणालीलाई मजबुत तुल्याउँछ ।

त्यसबाहेक, तातो पानी, मह पानी, कागती पानी पनि खाँदा ठिक हुन्छ । मह पानी खानेहरुले सकेसम्म डबर, पतञ्जली जस्ता कम्पनीले उत्पादन गरेको मह प्रयोग नगर्दा ठिक हुन्छ । यस्ता महमा चिनिको मात्रा धेरै हुन्छ । सुगर रोगका बिरामीले यस्ता मह खानु हुँदैन । गाउँघरमै उत्पादन भएको हो भने त्यस्ता मह स्वास्थ्यका लागि लाभदायक हुन्छ । 

सामान्यतया नेपालीको ‘ब्रेकफाष्ट’ लिने चलन हुँदैन । दाल, भात र तरकारी खाएपछि एकै पटक खाजा खाने चलन हुन्छ । सन्तुलित भोजनको दृष्टिकोणले यो ठिकै हो । यति खानाले शरिरका लागि आवश्यक पोषण पुग्छ । 

पछिल्ला दिन बिहान ‘ब्रेकफाष्ट’ लिने र दिउँसो खाना खाने चलन छ । यस्तोमा कस्तो खाना खाने भन्ने बिषय खाने मान्छेमा भर पर्छ । यति हो खानाले तपाईलाई असर गर्नु भएन । तपाईले खाएको खाना शरिरले सजिलै पचाउन सकोस । यदी हामीले दाल र भात खाँदैछौं भने त्यसमा सागलाई अनिवार्य गर्दा राम्रो हुन्छ । सलाद र दही भयो भने अझ वेस हुन्छ । 

हामीले चिकेन, अण्डा वा गेडागुडि खाइरहेका छौं भने दाल नखाँदा पनि हुन्छ । किनभने  मासु र अण्डाले शरिरलाई चाहिने पोषण दिइरहेको हुन्छ । धेरै प्रोटिनजन्य खाना पनि खानु हुँदैन । पचाउन समस्या हुन्छ । यसले ग्याष्ट्रिक निम्त्याउँछ । 

रातो मासु सकेसम्म कम गर्दा ठिक हुन्छ । चिकेन हो भने सातामा दुई तीन पटक खाँदा पनि केही फरक पर्दैन । मासु बिहान वा दिउँसो खाँदा ठिक हुन्छ । बेलुका मासु खाँदा असर गर्छ । पचाउन समय लाग्छ । बिहान पेट सफा हुँदैन । यसो हुँदा ‘ग्याष्ट्रिक’ निम्तिन्छ ।

भोकै बस्दा ‘ग्याष्ट्रिक’ हुन्छ । खाना पचेन भने पनि यो समस्या आउँछ । बिहान र दिउँसो धेरै ‘ग्याप’ राखेर खाना खानु हुँदैन । यसले पनि पेटमा ग्यास पैदा गराउँछ । ‘ब्रेकफाष्ट’मा ओट्स, दही, दूध, नट्स सबै मिलाएर खाने चलन छ । सँगै पाउरोटी, तरकारी पनि खाने चलन छ । स्वास्थ्यका दृष्टिबाट यो ठिकै हो । तर, सकेसम्म मैदा मिसिएको खाना खानु हुँदैन । 

हतार भएको बेला दुध तथा पानीमा सातु मिसाएर खान सक्छौं । याी खानेकुरा  एकदमै राम्रो र छिटो पनि बन्छ । यसले धेरै समयसम्म भोक मेटाउँछ । यस्तो समयमा चना, अण्डा, ड्राइफुड पनि खान सक्छौं । 
 

शुक्रबार​ १२ फागुन २०७९ १०:४० AM मा प्रकाशित

प्रतिक्रिया