काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेस र नेकपा एमाले बहुमत सांसदको हस्ताक्षरसहित पूरक रिट सर्वोच्च अदालतमा दायर गर्ने तयारीमा छन्।
संसद पुनर्स्थापनाका लागि यसअघि छुट्टाछुट्टै रिट दायर गरेका दुवै दलले अब संयुक्त रूपमा थप बलियो आधारसहित पूरक रिट लैजान लागेका हुन्। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई पटक भेटवार्ता भइसकेको छ। मंसिर १९ गते भएको पहिलो भेटपछि कांग्रेस संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च पुगेको थियो। त्यसपछि हिजो भएको दोस्रो भेटले मुद्दालाई थप परिपक्व र संस्थागत बनाएको राजनीतिक वृत्तको बुझाइ छ।
कांग्रेसकी सचेतक सुशीला थिङका अनुसार आजै पूरक रिट दर्ता गरिने तयारी छ। उनका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदले हस्ताक्षर गरिसकेका छन्। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि पुनर्स्थापनाको पक्षमा उभिने संकेत देखिएको छ। संसद पुनर्स्थापनाको पक्षमा जनमत पार्टी तथा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तीन सांसदले पनि हस्ताक्षर गरेका छन्।
उता, एमालेका तर्फबाट यसअघि प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल मात्र रिट लिएर सर्वोच्च पुगेका थिए। अब भने एमालेका ७५ सांसदले पूरक रिटका लागि हस्ताक्षर गरेको स्रोतले जनाएको छ। राजनीतिक रूपमा निर्वाचन तयारीतर्फ जानुपर्ने समयमा कांग्रेस र एमाले पुरानै संसदको शक्ति र अघिल्लो गठबन्धन पुनर्जीवित गर्न लागेको आरोपसमेत उठ्न थालेको छ। यद्यपि, कांग्रेसको औपचारिक संस्थागत निर्णय भने निर्वाचनमा जाने नै रहेको बताइँदै आएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमुक्त भएपछि सरकारको समर्थन र रक्षाकवचका रूपमा सक्रिय देखिएका छन्। संसद पुनर्स्थापनाको बहस तीव्र बन्दै जाँदा सर्वोच्च अदालतको निर्णयले नेपाली राजनीतिको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया