×

पूर्व लिच्छविकालीन सहर हाँडीगाउँ संरक्षणको माग

images


काठमाडौँ, ६ असोज: पूर्व लिच्छिविकालीन सहरका रुपमा स्थापित हाँडीगाउँका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।

कैलाशकूट सामाजिक अभियानको प्रथम साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै सम्पदाविद्हरुले हाँडीगाउँका १४ थरी प्राचीन बाजामध्ये तीन वटा लोप भइसकेकाले यहाँका मूर्त, अमूर्त सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको हो ।

प्राज्ञ दिनेशराज पन्तले इतिहास पोखरी नभई नदीका रुपमा स्थापित हुनुपर्ने भनाइ राख्नुहुँदै हाँडीगाउँको इतिहासका बारेमा स्थानीयले नै बुझेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    बागमती प्रदेशसभा सदस्य राजेन्द्र प्रजापतिले धर्म, संस्कृतिमाथि निरन्तर आक्रमण भइरहेकाले यसको संरक्षणका लागि स्थानीयवासी नै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । काठमाडौँ महानगरपालिका वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले पूर्व लिच्छविकालीन हाँडीगाउँलाई विकास गर्न स्थानीय सरकार सक्रिय भई लागेको बताउनुभयो ।
 
प्रा डा सुदर्शनराज तिवारीले किराँत र लिच्छविकालका सम्पदा रहेको हाँडीगाउँको समावेशीरुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । मानगृह, कैलाशकूट भवन, मध्यमगृहजस्ता भवन हाँडीगाउँमै रहेका धेरै प्रमाण रहेको उहाँले बताउनुभयो ।
 
वरिष्ठ पत्रकार सुशील कोइरालाले भारतमा समेत नरहेको व्यास मन्दिर हाँडीगाउँमा रहेको र यस्ता अनगिन्ति सम्पदा हाँडीगाउँमा रहेकाले यसको संरक्षणमा नागरिकस्तरबाट काम हुनुपर्ने बताउनुभयो । कार्यक्रममा हाँडीगाउँ क्षेत्रका सम्पदाको संरक्षणमा योगदान गर्नुभएका देवदास डङ्गोल र उहाँकी श्रीमती मनमाया डङ्गोल, हाँडीगाउँ क्षेत्रबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका एक छात्र र छात्रालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठ, अधिवक्ता उद्धव केसी, निर्वाचन समिति संयोजक अनुपराज गौतम, सल्लाहकार सुखराम महर्जनलगायतले यस क्षेत्रका धनगणेश, पञ्चधारा, सत्यनारायणस्थललगायत सम्पदा क्षेत्र दूरावस्थामा पुगेको बताउनुभयो ।
 
अभियानको पहिलो साधारणसभाले महेशकुमार श्रेष्ठको अध्यक्षतामा अर्को कार्यकालका लागि १५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कैलाशराम प्रधान, महासचिवमा मोहनकुमार पौडेल, सचिवमा प्रभुराज पौडेल, कोषाध्यक्षमा गणेशबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी अभियानको सदस्यमा तीर्थबहादुर बज्राचार्य, गौरव केसी, राम प्रजापती, कमल नेपाल, धर्मनारायण श्रेष्ठ, मेघराज सापकोटा, निश्चल जोशी, श्यामहरि नापित, किशोरराज जोशी र ज्योतिका महर्जन रहनुभएको छ । उपाध्यक्ष प्रधानका अनुसार सुखराम महर्जन, उद्धव केसी, डा विमला ओझा, डा सुरेशराज चालिसे, डा माधुरी राणालाई सल्लाहकारमा मनोनयन गरिएको छ ।
---

शनिबार ६ असोज २०८० ०४:१७ PM मा प्रकाशित

प्रतिक्रिया