×

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

images


काठमाडौँ, ६ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छबुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताउनुभएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को २० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री राईले संसद्मा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने स्पष्ट गर्नुभयो । 

उहाँले सोका लागि सरकारले सहजीकरण गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता बद्री पाण्डेले संसद्मा पुगेको विधेयकबारे सम्बन्धित समितिले गम्भीर छलफल गरेर सहमतिका आधारमा निष्कर्ष निकाल्ने बताउनुभयो । 

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले सरकार शैक्षिक सरोकारका विषयमा संवेदनशील नभएकाले शिक्षकले आन्दोलन गर्न बाध्य हुनुपरेको टिप्पणी गर्नुभयो । नेकपा (माआवादी केन्द्र) का नेता दिनानाथ शर्माले लामो समयको प्रतीक्षापछि शिक्षा विधेयक तयार हुनु सकारात्मक भएको र यसलाई राजनीतिक दल र सांसदले गहन छलफल गरेर भविष्यका कर्णधारको गुणस्तरीय शिक्षाको अधिकार स्थापित गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष गौरी प्रधान, भूपराज खड्का, दीर्घनारायण श्रेष्ठ, राजकुमार गन्धर्व, डिल्लीराम भट्टराईलगायतलाई सम्मान गरिएको थियो । नेपाल सरकारसँग शुक्रबार  छबुँदे सहमतिपछि महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको थियो ।–––

शनिबार ६ असोज २०८० ०६:०६ PM मा प्रकाशित

प्रतिक्रिया