×

सिञ्जामा केदारनाथ महोत्सवको तयारी

images


जुम्ला, ६ भदौ : सिञ्जा गाउँपालिकाको आयोजनामा यही भदौ १० देखि १२ गतेसम्म सञ्चालन हुने ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथ महोत्सवको तयारी पूरा भएको छ । 

    पालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिका–४ स्थित बुदबुदी बारेमा सम्पन्न हुने महोत्सवको भव्य रुपमा सफल पार्न तयारी र प्रचारप्रसारको कामलाई तीव्र गतिमा अघि बढाइएको छ । 
    
    महोत्सवको सबै काम करिब सम्पन्न भइसकेको उहाँले बताउनुभयो । सिञ्जा नेपाली भाषाको जन्मथलोसमेत हो ।  पालिकाभित्र ओझेलमा परेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने र सिञ्जाको धार्मिक पर्यटन क्षेत्रमा केदारनाथ महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । अब हरेक वर्ष भदौ १० गतेका दिन केदारनाथमा धार्मिक मेलासमेत गरिने भएको छ । 

    महोत्सवलाई सफल पार्न पवित्रस्थल केदारनाथ बुदबुदीमा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भइसकेको छ । महोत्सवको थप व्यवस्थापन गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यलाई जिम्मेवारीसमेत तोकिएको छ । 

    जिल्लाकै ऐतिहासिक पवित्र धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने र राज्यको ध्यानाकर्षण गराउनका लागि बृहत् धार्मिक महोत्सव गर्न थालिएको हो । उक्त महोत्सवमा विभिन्न खस वेशभूषा, जुम्ली जैविक स्याउ, राडीपाखी लगायतका अन्य सामग्रीको अवलोकन गर्न सकिने गाउँपालिकाले जनाएको छ । 

बुधबार ६ भदौ २०८० ०३:०७ PM मा प्रकाशित

प्रतिक्रिया