×

नौतले दरबार पुनःनिर्माण अन्तिम चरणमा

images


काठमाडौँ, ६ भदौ ः विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुनःनिर्माण अन्तिम चरणमा पुगेको  छ । चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग उपलब्ध गराएको थियो । सन् २०२२ मा सक्ने गरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको थियो । विसं २०७६ चैतपछि कोरोनाका कारण काममा समस्या आएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिनुभयो ।

     पुरातत्व विभागले पुनःनिर्माणमा प्राविधिक सहयोग गरेको थियो । पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको थियो । विसं २०७६ चैतअघि नै ८० प्रतिशत काम सकिएकामा कोरोना महामारीका कारण बाँकी काम सकेर संरचनाका काम हालै  सम्पन्न गरी भित्री साजसजावट र ग्यालरीको काम भइरहेको उहाँले जानकारी दिनुभयो । करिब एक वर्षमा भित्री सजावट र ग्यालरीका काम पनि सम्पन्न गरी सङ्ग्रहालयकै रुपमा नौ तले दरबार सर्वसाधाराणको अवलोकनका लागि खुला गरिने हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । 

      विभागका पूर्व महानिर्देशक दामोदर गौतमले कोरोना महामारी  शुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भएको बताउनुभयो । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भएको हो । हाल पुरानै स्वरुपमा नौतले दरबार ठडिएको देखिन्छ ।

     करिब रु १६ करोड लागतमा दरबार पुनःनिर्माण भएको जनाइएको छ । दरबार पुनर्निर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो । नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले  संयुक्त रूपमा दरबार पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो । दरबार विसं १८२६ मा तत्कालीन राजा पृथ्वीनारायण शाहले निर्माण गराउनुभएको हो । 

     सम्झौता अनुसार सन् २०२२ को नोभेम्बरसम्म नौतले दरबार पुनःनिर्माणको म्याद रहेको थियो । समयमा काम नसकेपछि पुनःनिर्माणका लागि म्याद थप गरिएको हो । वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माण अझै सकिएको छैन । यस क्षेत्रका ९५ सम्पदामध्ये ७५ वटामा भूकम्पले क्षति गरेको इञ्जिनीयर रेणु महर्जनले जानकारी दिनुभयो । हालसम्म ४२ सम्पदा पुनःनिर्माणको काम सकिएको छ । हाल ११ सम्पदा पुनःनिर्माणको काम भइरहेको छ । २२ सम्पदाको भने अझै पुनःनिर्माण सुरु हुन सकेको छैन । बजेट अभावमा २२ सम्पदा पुनःनिर्माण गर्न नसकिएको इञ्जिनीयर महर्जनले बताउनुभयो ।

नुवाकोट दरबार पुनःनिर्माण जारी

     चीनले नुवाकोटको सात तले दरबारको पुनर्निर्माणमा पनि सहयोग गरेको छ । चीनकै सहयोगमा नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणको काम पनि भइरहेको जनाइएको छ ।  
     नुवाकोट दरबार क्षेत्रका तलेजु भवानी मन्दिर, गारदघर, रङ्गमहल लगायत सबै संरचना चीन सरकारले नै पुनर्निर्माण गर्दैछ । नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत हुने गरी प्रक्रिया अघि बढेकाले चीन सरकारले पुरानो स्वरुपमै निर्माण गरिरहेको विभागले जनाएको छ । नुवाकोटको साततले दरबारको निर्माण पनि पृथ्वीनारायण शाहले नै गराउनुभएको हो ।–

बुधबार ६ भदौ २०८० १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया