×

चिनियाँ नागरिकको अवैध कारोबार : नेपालमा धन्दा , भारतमा लगानी

images

काठमाडौं ।  पर्यटक भिषाको दुरुपयोग गर्दै नेपालमा बसेका चिनियाँ नागरिकले अवैध अनलाइन कारोबार गर्ने गरेको खुलासा भएको छ । उनिहरुले चीनबाट अवैध रकम नेपाल ल्याएर विभिन्न अनलाइन एप्समार्फत भारतीयलाई ऋण दिने गरेको तथ्य बाहिर आएको हो । 

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रबक्ता दिनेशराज मैनालीका अनुसार अनलाइनमार्फत् अवैध कारोवारमा संग्लन १ चिनियाँसहित ३६ जना नेपाली प्रक्राउ परेका हुन् । जसमा १३ जना महिला र २३ जना पुरुष छन् । मैनाली भन्छन्,' बानेस्वरमा रहेको कम्पनीबाट एकै दिनमा ६ करोड ६८ लाख रुपैयाँ बढी रकमको कारोबार भएको देखिन्छ । उक्त रकम कहाँबाट , कुन माध्यमबाट नेपाल भित्रियो र भारतीयसम्म पुग्यो भन्ने अनुसन्धान भइरहेको छ । 

प्रहरीका अनुसार काठमाडौं महानगरपालिकाको वडा नं.  ९ पुरानो बानेश्वरमा रहेको केशवराज विजयानन्दको घर भाडामा लिएर दुई महिनाअघि सिन्धुली घर भइ हाल ललितपुर महालक्ष्मी बस्ने दिपक श्रेष्ठको नाममा लेमन गुप्र अफ कम्पनी सुरु गरिएको थियो ।

एक महिनाअघि कल सेन्टरको रुपमा कानुनी रुपमै दर्ता भएको यो कम्पनीमा गैरकानुनी कारोबार भइरहेको प्रहरीमा सूचना आएको थियो । यस्तै, कार्यमा संग्लन भएको आरोपमा मंगलबार भक्तपुरको सानोठिमी श्रेत्रबाट एक चिनियासहित ८० जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेका अनुसार प्रक्राउ पर्नेमा ग्राहक र इन्टरप्रेट गरेर ४७ जना महिला र चिनियाँसहित ३३ जना पुरुष ठिमीबाट नियन्त्रणमा लिइएको हो । उक्त कल सेन्टरबाट डेक्सटप कम्युटर, आइप्याडलगायतका सामान पनि बरामद गरिएको छ ।

सनसिटी अपार्टमेन्टको १२०६ नम्बरको कोठा भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङ जिनावसहित ८० जना प्रक्राउ परेका हुन् ।  प्रहरीका अनुसार ठूलो मात्रामा चिनियाँ रकम नेपाल ल्याएर उनीहरुले गैरकानुनी कार्य गर्दै आएको पत्ता लागेको हो ।

अनुसन्धानका क्रममा नेपाली नागरिकको नाममा दर्ता भएको उक्त कम्पनीमा चिनियाँ नागरिकको लगानी रहेका खुलेको छ । नेपाली नागरिकलाई मासिक १८ हजारदेखि ६० हजारसम्म तलब दिएर काममा राखेका थिए । मैनालीका अनुसार भारतमा विभिन्न अनलाइन एपहरु ऋण लिनदिनका लागि सक्रिय छन् । जसका लागि विभिन्न नामका लोन स्क्याम सञ्चालनमा छन् । इजी क्रेडिट, फ्रि क्यास, हेन्डी लोन, गो लोन, रुपी लोन, हाइ क्यास जस्ता एपमा विज्ञापन गरिदै आएको छ।

ऋण लिनका लागि यी एपमा व्यक्तिको आधिकारिक कागजपत्र, आधार कार्ड, प्यान कार्ड, नागरिकताजस्ता कागजपत्र एपमा पठाउनुपर्छ । ऋण दिने कम्पनीले ती एपमार्फत व्यक्तिको व्यक्तिगत कागजपत्र हात पार्ने गर्छन् । यसका आधारमा व्यक्तिको काम गर्ने ठाउँ, आफन्त, घर जग्गा बैंक डिटेल्ससम्म पहुँच पुग्ने गर्छ ।

समयमा ऋण फिर्ता नगरेको अवस्थामा उनीहरुले मोबाइल नै ह्याक गर्नेसम्म गरिदिन्छन् । अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीका अनुसार कल सेन्टरको नाममा दर्ता भएर नेपालीको सहयोगमा ती चिनियाँले लोन स्क्याम गर्दै आएका थिए । 

जसको टार्गेटमा अनलाइन गेमखेल्ने युवाहरु पर्ने गरेका छन् । लोनमा ३ हजार भारतीय रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म ७ दिनका लागि मात्रै उपलब्ध गराइन्छ । हरेक दिन ५० औं हजार मानिसले अनलाइन ऋण माग्ने गरेको तथ्य खुलेको छ । ५० हजार मानिसलाई ऋण दिन सक्ने रकमको आधिकारिक स्रोत भने खुलेको छैन । 

ऋण लिने बेलामा नै एक लिंक क्लीक गर्न लगाइने र उक्त लिंकमार्फत करणीको मोबाइलमा भएको सबै डाटा र विवरणहरु उनीहरुले तान्ने गरेका थिए ।  ७ दिनपछि पैसा फिर्ता माग्छन् । समयमा रकम फिर्ता नगरेको अवस्थामा १० देखि ३५ प्रतिशतसम्म पैसा थपेर दिनुपर्ने बाध्यता छ । एक महिनाका लागि ७ हजार ऋण लिएको व्यक्तिले एक महिनामा १८ हजार रकम तिर्नुपर्छ । पैसा नतिरेसम्म प्रत्येक दिन तिर्नुपर्ने रकम थपिदै जान्छ । 

चिनियाँ लगानी रहेको कम्पनीमा काम गर्ने नेपाली कामदारहरुले ऋणीसँग पैसा उठाउने काम गर्छन् । केस समाधान गर्ने कामदारले हरेक केसको २०० रुपैयाँका दरले कमिसन प्राप्त गर्दछन् । पैसा उठाउनका लागि ऋणीलाई धम्काउने, गाली गलौच गर्ने, अपशब्द बोल्ने,  फोनबुक ह्याक गर्ने, मानसिक टर्चर गर्ने गरेको तथ्य बाहिररिएको छ । 

मैनालीका अनुसार गो लोनबाट ऋण लिएका ४ जनाले आत्महत्या समेत गरेको पाइएको छ । कतिपय यस्ता कम्पनीले विभिन्न भारतीय बैंकको नक्कली आइडी समेत बनाएर ठगी गर्ने गरेको खुलेको छ । 

बुधबार ११ फागुन २०७८ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया