×

प्रचण्ड-माधव भेट सकियो, पुरानो गठबन्धन बिउँताउनेबारे प्रचण्ड भन्छन अहिले फाइनल भएको छैन

images

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ। आगामी राष्ट्रपतिको निर्वाचनको विषयलाई  प्रधानमन्त्री प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा माओवादीका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र एकीकृक समाजवादीबाट घनश्याम भुसाल पनि सहभागी थिए। एमाले अध्यक्ष केपी ओलीले नेपाललाई राष्ट्रपतिको रुपमा अघि सारेपछि नेपाल प्रचण्डलाई भेट्न सिंहदरबार गएका हुन् । प्रचण्डलाई भेटेर नेपालले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।

राष्ट्रपतिको चुनावको उम्मेदवारी दर्ता फागुन १३ गते हुने भएपछि लविङका लागि नेताहरुले प्रचण्डलाई भेटेर सहयोग गर्न आग्रह गरिरहेका छन् ।भेटपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए । पुरानो गठबन्धन ब्यूँताउन लाग्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘अझै टुंगो छैन ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न विकल्पमा छलफल भइरहेको तर निश्कर्षमा नपुगेको बताए । ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्य देशलाई हित हुने विकल्प रोज्छौं’ उनले भने ।

यसअघि बुधबार साँझ बालुवाटारमा भएको वार्तामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो। उक्त सहमतिलाई औपचारिकता दिन आज विभिन्न दलले पार्टीभित्र र अन्तरपार्टी छलफल गरिरहेका छन्।

बिहीबार ११ फागुन २०७९ ०२:११ PM मा प्रकाशित

प्रतिक्रिया