काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १५ औं महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सभापतिको उम्मेदवार रहेको र नेतृत्व सम्हाल्न तयार रहेको दाबी गरे। महामन्त्रीको हैसियतमा आफूले सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न स्पष्ट रूपमा भनिरहेको उनले बताए । जुनसुकै मूल्य चुकाउन परे पनि आगामी आम निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुनैपर्ने उनको अडान छ । थापाले नियमित अधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फत भए पनि नेतृत्वको टुङ्गो लगाउनुपर्ने र महाधिवेशन बिना कांग्रेस चुनावमा जान नहुने चेतावनी दिए ।
‘अहिले तलबाट क्रियाशील सदस्यको कामहरू हुँदै गर्दा ठाउँ ठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुराहरू जसरी भइराख्नुपर्ने हो आइरहेको छैन । तर म कसैलाई दोष दिन्न । किनभने अझै गर्न सक्छु भन्ने विश्वास छ । लागिरहेको छौँ,’ उनले भने, ‘पत्रपत्रिकाहरू हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगेर खन्याएर अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तै हो । मजाले बाटो ठिक थियो । समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर कता कता कता अलि अलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ ।’
साथै उनले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन गर्नु अनिवार्य रहेको बताए। साथै भ्रष्टाचार र कुशासनविरुद्ध युवा पुस्ता (जेनजी) सडकमा उत्रिँदा भएको उक्त घटनामा धेरै नौजवानले ज्यान गुमाउनु परेको भन्दै उनले गहिरो दुःख व्यक्त गरे। सडकमा जनताको आक्रोश पोखिनु स्वभाविक भएको तर्क गर्दै महामन्त्री थापाले सार्वजनिक पदमा बस्ने व्यक्तिको नैतिकता सबैभन्दा ठूलो कुरा हुने जिकिर गरे।
‘राजनीतिक नैतिकता निकै महत्वपूर्ण हुन्छ, म पदमा भएको भए यसको पूर्ण जिम्मेवारी लिन्थेँ,’ उनले भने। ठूलो पदमा बस्नेले नै बढी जिम्मेवारी बोक्नुपर्ने भन्दै उनले तत्कालीन प्रधानमन्त्रीले यसबाट उम्किन नमिल्ने बताए। थापाले उक्त घटनालगत्तै कांग्रेसले गृहमन्त्रीलाई राजीनामा दिन लगाएर आफ्नो तर्फबाट नैतिकता प्रदर्शन गरेको दाबी समेत गरे। घटनाको प्राविधिक छानबिन आफ्नै ठाउँमा भए पनि सरकारको नेतृत्व गर्नेले नैतिक रूपमा ‘यसको जिम्मा म लिन्छु’ भन्न सक्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठुलो कुरा हो । पोल्टिकल मोरालिटी अझ ठुलो कुरा हो । म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन । ठुलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरूले लिनुपर्छ ।’
प्रतिक्रिया