×

सिरियल किलर चार्ल्स शोभराज : तिहाड जेलबाट भाग्नेदेखि निर्धक्क नेपाल आउनेसम्म

images

नेपालको सर्वोच्च अदालतले फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ ।दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन् । 

images

चार्ल्स शोभराजलाई अध्यागमनलाई बुझाउने तयारी

काठमाडौं । सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ । दुई जनाको हत्या र एकक...

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो । योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो ।

७८ वर्षका शोभराज मुटु रोगबाट पीडित छन् । शोभराज दुई अमेरिकी पर्यटकको हत्याको आरोपमा सन् २००३ देखि नेपालको जेलमा छन् । अदालतले उनलाई रिहा भएको १५ दिनभित्र सुपुर्दगी गर्न आदेश दिएको छ ।

‘द सर्पेन्ट’ र ‘बिकिनी किलर’ जस्ता उपनामले चर्चित चार्ल्स शोभराजको जन्म ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भएको थियो । उनकी आमा भियतनामकी नागरिक थिइन् र उनका बुबा भारतीय थिए । पिताले उनलाई अपनाउन अस्विकार गरेका थिए । त्यतिबेला भियतनाम फ्रान्सको कब्जामा थियो । फ्रान्सेली उपनिवेशमा जन्मेर उनले फ्रान्सेली नागरिकता लिएका थिए ।

भेष परिवर्तन गर्न माहिर चार्ल्स शोभराजले पर्यटक र युवतीलाई आफ्नो निशाना बनाउँथे । चार्ल्स शोभराजलाई भारत, थाइल्याण्ड, नेपाल, टर्की र इरानमा २० भन्दा बढी हत्याको आरोप लागेको थियो । उनलाई ‘सिरियल किलर’ भन्न थालियो तर २००४ को अगस्ट अघि उनी त्यस्तो कुनै पनि मुद्दामा दोषी ठहरिएका थिएनन् ।

एक अपराधीको रुपमा शोभराज या त झुक्याएर जेलबाट बाहिर आइरहे या त अधिकारीलाई घुस दिएर जेलमा सुविधा हासिल गरिरहे । शोभराज भारतबाहेक अफगानिस्तान, ग्रीस र इरानको जेलबाट पनि भागेको विश्वास गरिन्छ । फ्रान्सेली पर्यटकलाई विष खुवाएको मामिलामा उनले भारतको जेलमा करिब २० वर्षको सजाय काटे ।

अपराधको दुनियाँमा प्रवेश

यो मानिन्छ कि सुरुवाती जीवनमा शोभराजले फ्रान्समा साना–तिना अपराध गरे तर सिरियल किलर बन्ने सुरुवात सन् १९६३ मा त्यतिबेला भयो जब उनले एशियाको यात्रा गरे । उनको आपराधिक घटनाको शैली सधैँ एउटै हुने विज्ञहरू बताउँछन् । उनी ड्रग्स सेवन गर्ने फ्रेन्च र अंग्रेजी भाषी पर्यटकसँग दोस्ती गर्दथे र उनीहरुलाई लुटेर हत्या गर्ने गर्थे ।

सन् १९७२ देखि १९८२ सम्म शोभराजमाथि हत्याका २० भन्दा बढी आरोप लागेका थिए । यी सबै घटनामा पीडितहरूलाई लागूऔषध खुवाइएको थियो । उनीहरुको घाँटी थिचिएको थियो । मारिएको थियो या त जलाइएको थियो ।

उनी दुई पटक भारतको जेलबाट भागेका थिए । एक पटक तिहार जस्तो उच्च सुरक्षा कारागारबाट पनि उनी भागेका थिए ।

जेलबाट कसरी र किन भागे ?

सन् १९७६ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो तर दश वर्षपछि सन् १९८६ मा उनी तिहाड जेलबाट भागे । शोभराजले जेलमा जन्मदिनको पार्टी आयोजना गरेका थिए । यसमा कैदीसँगै गार्ड पनि बोलाइएको थियो ।

पार्टीमा वितरण गरिएको बिस्कुट र अंगुरमा निद्राको औषधी मिसाइएको थियो । केही बेरपछि शोभराज र उनीसँग जेलबाट भागेका चार अन्य व्यक्तिबाहेक अरु सबै निदाए । भारतीय अखबारमा आएको रिपोर्टका अनुसार शोभराज बाहिर आउनेमा यति ढुक्क थिए कि उनले जेलको गेटमा तस्बिरसमेत खिचाए ।


 रिचर्ड नेभिलको जीवनीमा, चार्ल्स शोभराज भन्छन्, ‘जबसम्म मसँग मानिसहरूसँग कुरा गर्ने मौका छ, म उनीहरुलाई बहकाउन सक्छु ।’ भनिन्छ कि दश वर्षको जेल सजायको अन्त्यमा, उनी जानाजानी भागेका थिए ताकि उनी पुनः पक्राउ परुन् र जेलबाट भागेको अभियोगमा मुद्दा चलाउन सकियोस् ।

यसो गर्दा उनी थाइल्याण्ड सुपुर्दगीबाट बच्न सक्थे । थाइल्यान्डमा उनीमाथि पाँचवटा हत्याको आरोप थियो र उनलाई मृत्युदण्डको सजाय हुने लगभग निश्चित थियो । सन् १९९७ मा रिहा हुँदासम्म बैंककमा उनीमाथि मुद्दा चलाउने म्याद सकिएको थियो । सन् १९९७ मा भारतले उनलाई फ्रान्स सुपुर्दगी गरेको थियो ।

नेपालमा पक्राउ

सन् २००३ मा फेरि चार्ल्स शोभराज नेपाल फर्किए र यसपटक यहाँको प्रहरीले पक्राउ गर्न सक्ने अवस्थामा पनि उनी निर्धक्क थिए । उनले यसपटक पत्रकारसँग कुराकानीसमेत गरे । काठमाडौँको एक क्यासिनोबाट उनलाई पक्राउ गरियो ।

नक्कली राहदानीमा यात्रा गरी क्यानाडाली नागरिक र एक अमेरिकी महिलाको हत्या गरेको आरोपमा नेपालले उनीविरुद्ध करिब २८ वर्ष पुरानो मुद्दा फेरि खोल्यो । शोभराजले आरोप अस्वीकार गरे तर प्रहरीले आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गर्यो । सन् २००४ मा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

गत वर्ष अप्रिलमा चार्ल्स शोभराजले नेपालको जेलबाट विदेशी मिडियालाई अन्तरवार्ता दिएपछि फेरि चर्चामा आएका थिए । प्रश्न उठिरहेको थियो कि जेलमा रहेका कैदीले मिडियासँग कसरी कुरा गरे ?

बेलायतका दुई पत्रिकामा शोभराजको कैद र उनको भविष्यको योजना बारे अन्तरवार्तामा आधारित रिपोर्ट छापिएको थियो ।

बीबीसी

 

बिहीबार ७ पुस २०७९ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया