×

कांग्रेस बैठक- सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा जोड, अर्थतन्त्र धरासायी हुनुमा अर्थमन्त्री महतको कमजोरी

images

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक दुईदेखि जारी छ । बिहीबारदेखि शुरू भएको उक्त बैठकमा पार्टी र सरकारको नेतृत्वदायी भूमिकामा रहेका शीर्षस्थहरूको कार्यशैलीप्रति चर्को आलोचना भएको छ । 

अर्थतन्त्रका सूचकहरू दैनिक दिन ओरालो लागेको भन्दै नेताहरूले आक्रोश पोखेका छन् । उनीहरूले मुलुकको अर्थतन्त्र धरासायी हुँदा पनि कांग्रेस नेता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थसम्बन्धी चलायमान नीति निर्माणमा बेखर बनेको आरोप लगाएका छन् ।

केन्द्रीय समिति बैठकमा अधिकांश नेताले देशको मेरुदण्ड मानिने अर्थतन्त्र उकास्न अर्थमन्त्रीले महल गर्नुपर्नेमा जोडदिए । उक्त बैठकमा केन्द्रीय सदस्य तथा संस्थापनइतर पक्षका नेता प्रा.डा. गोविन्दराज पोखरेलले सरकारको अर्थनीति चलायमान नहुँदा बैंकमा रकम मौजाद रहेको बताए । 

उनले भने– ‘बैंकमा ५ खर्ब थन्किएको छ । सरकारको चलायमान नीति नबन्दा त्यो पैसा बाहिर आउन सकेन, देशका झन्डै ३५ प्रतिशत सटर बन्द भएका छन् । दसैंको मुखैमा बजारहरू सुनसान छन् । यसबारे सरकार गम्भीर बनेको देखिँदैन ।’ 

अर्थमन्त्री महतले अर्थतन्त्र चलायमानका लागि नीति अवलम्बन नगरेको पोखरेलले बताए । बरु उनले आफ्नो पदीय दायित्व र जिम्मेवार विपरीत अभिव्यक्ति दिँदै हिँडेको समेत आरोप लगाए । 

‘अर्थमन्त्री राष्ट्र बैंकलाई मौद्रिक नीति कडा ल्याएको भनेर गाली गर्नुहुन्छ । सरकारको नीतिका कारण अहिलेको स्थिति निम्तिएको भन्छन् । सरकारको संवेदनशील अंगमा बसेर यसरी अनुत्तरदायी भएर बोल्नु भएन,’ उनले भने । 

महत अर्थमन्त्री नियुक्त भएयता आर्थिक मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । तर, उनले हालसम्म यसबारे कुनै पहल गर्न सकेका छैनन् । अर्थमन्त्रीले गभर्नर महाप्रसाद अधिकारीको सुझाव समेत सुन्न नचाहेको कांग्रेस नेताको आरोप छ । 

सेयर खरिदमा १२ करोडको सीमा हटाउन आवश्यक रहेको भन्दै केही दिनअघि सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । यद्यपि शुक्रबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकमा यसबारे सामान्य छलफल पनि भएको देखिएन । 

त्यस्तै कांग्रेस बैठकमा अर्थमन्त्री महतले अर्थसचिवका रुपमा बिहीबार कृष्णहरि पुष्करलाई नियुक्त गरेका थिए । यसबारे पनि बैठकमा नेताहरूले विरोध जनाएका छन् । पुष्कर अर्थविज्ञ नभएको भन्दै काम गर्नसक्ने विज्ञ सचिवलाई मन्त्रालयमा नियुक्त गर्नुपर्नेमा जोडदिए । 

अर्का पार्टी केन्द्रीय सदस्य भरत शाहले प्रश्न गरे– ‘देशको स्थिति जटिल छ, खराब छ । आधाजस्तो उद्योग बन्द भएका छन् । धेरै मान्छे विदेश पलायन भइरहेका छन् । यस्तो संकटबाट कसरी बाहिर निस्कने ?’ 

देशको आर्थिक संकट टार्न सरकार परिवर्तन अनिवार्य रहेको शाहको भनाइ छ । उनले सरकारमा अब पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नभए देश नै संकटमा पर्ने बताए । शाह संस्थापन पक्षका नेता हुन् । 

कांग्रेस केन्द्रीय बैठकमा शिक्षक संगठन हटाउनुपर्ने माग 

उक्त बैठकमा कांग्रेसनिकट शिक्षक संगठन खारेज गनुपर्ने माग उठेको छ । शिक्षकको कर्म पढाउने भएको भन्दै राजनीति गर्न नहुने बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूको धारणा छ ।

केन्द्रीय सदस्य गोपाल दहितले भने– ‘नेपालमा अहिले शिक्षकहरूले आन्दोलन गरिराख्नु भएको छ । उहाँहरूलाई सम्मानपूर्वक, इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ संघ संगठनको रुपमा संरचना निर्माण गर्नहुँदैन ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै तीन दिनयता शिक्षकहरूले संघीय राजधानीमा आन्दोलन गरिरहेका छन् । उनीहरूले शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिररहेका बालकक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषय सम्बोधन गर्न नसकेको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलित छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले दर्ता गरेको विधेयकमा निजी विद्यालयलाई गुठीमा रूपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने कानुन बनाउने गरी मस्यौदा तयार गरिएको थियो । 

यसमा आपत्ति जनाउँदै निजी तथा आवसिय विद्यालय सञ्चालकहरूले विरोध गरेका थिए । विरोधका बावजुद सरकारले यसलाई ऐच्छिक बनाएर प्रतिनिधि सभामा पेस गरेको थियो ।

शुक्रबार​ ५ असोज २०८० ०४:४२ PM मा प्रकाशित

प्रतिक्रिया