×

आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै

images


काठमाडौँ, ५ भदौ  नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस ) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना सङ्कलन गरिएको थियो । 

    यसअघि प्रयोगशालाले गरेको नमूना परीक्षणमा एडिनो भाइरस देखिएको थियो । यस्तै प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको नमूना सङ्कलन गरेर पठाउन आग्रह गरेको छ । प्रयोगशालाले नेत्र ज्योति सङ्घलाई प्रत्येक प्रदेशबाट एक सय ५० नमूना सङ्कलन गरेर पठाउन निर्देशन दिएको सूचना अधिकारी जैसीले जानकारी दिनुभयो । 

    आँखा पाक्ने रोगका लक्षण आँखा रातो हुनु र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुनु, सुन्निने, आँखा बिझाउने÷दुख्ने र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता समस्या भाइरल कन्जङ्क्टिभाइटिसमा हुने गर्दछ ।

    भाइरल कन्जङ्क्टिभाइटिस सङ्क्रमण भएपछि जथाभावी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्नुपर्दछ । यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने जस्ता स्याहार आँखाको गर्नुपर्दछ । 
–––

मङ्गलबार ५ भदौ २०८० ०२:२३ PM मा प्रकाशित

प्रतिक्रिया