काठमाडौँ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमास हतियार बिसाउन र सबै बन्धकहरूलाई रिहा गर्न सहमत नभएमा गाजा शहर ध्वस्त हुने चेतावनी दिएका छन् ।
रक्षामन्त्री काट्जको यो चेतावनी यस्तो समयमा आएको हो जब इजरायली मन्त्रिपरिषद्ले व्यापक अन्तर्राष्ट्रिय र घरेलु विरोधको बाबजुद गाजा शहरमा ठूलो मात्रामा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको छ ।
रक्षामन्त्री काट्जले चेतावनी दिदै भनेका छन्- 'यदि हमास सहमत भएन भने, गाजा शहर पनि रफाह र बेइत हानुन जस्तै भग्नावशेषमा परिणत हुनेछ ।'
इजरायली सैन्य कारबाहीबाट दुवै शहरहरू लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् । गत महिना, नेतान्याहूले युद्धविराम र बन्धक रिहाइमा अप्रत्यक्ष वार्ता असफल भएपछि गाजाको नियन्त्रण लिने नयाँ योजनाको घोषणा गरेका छन् ।
यसैबीच कतारका अनुसार, हमासले कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले तयार पारेको ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । यस प्रस्तावमा गाजामा बाँकी रहेका आधा बन्धकहरूको रिहाइ समावेश छ ।
यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरूको रिहाइसँगै 'इजरायललाई स्वीकार्य सर्तहरू' मा गाजा युद्ध अन्त्य गर्न वार्ताको निर्देशन दिएको बताएका छन् ।
प्रतिक्रिया