काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो समीक्षा गर्न आग्रह गरेका छन्। साथै अध्यक्ष नेपालले नीति तथा कार्यक्रम कागजको खोस्टो मात्रै नभएको बताएका छन् ।
नीति तथा कार्यक्रमका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तिखो आलोचना गर्दै फिर्ता लिन आग्रह गरेपछि नेपालले त्यसको प्रतिवाद गरेका छन । ‘नीति तथा कार्यक्रमको कुनै औचित्य छैन भन्ने कुरा आएका छन् । मैले पनि यसो मनन् गरे ।
यो कागजको खोस्टो मात्रै छ कि ? यसमा कुनै विषयवस्तु पनि छ यसो हेर्दै जाँदा मैले कागजको खोस्टो मात्रै पाइनँ’ नेपालले भने, ‘अगाडि सारिएका उद्देश्यहरुमा सुशासन कायम गर्ने र विकास निर्माणलाई प्रत्याभूति दिनेगरी अघि बढाउने उल्लेख गरिएको छ ।
ओलीलाई लक्षित गर्दै भने,‘आफ्नो व्यथा पोखेर मात्र हुँदैन, सरकार किन आफ्नो हातबाट फुत्कियो? त्यसका लागि अरुलाई सत्तोसराप गरेर पनि हुदैँन’, उनले भने, ‘आफ्नो पीडा पोखेर मात्रै हुँदैन, सरकारमा किन बस्न सकिएन? बनिसकेको सरकार किन गुम्यो? अब आफूभित्रका कमीकमजोरी के छन् सुधार गरेर जाऊँ।’
ओलीतिर लक्षित गर्दै उनले अहिले पनि समस्या उस्तै देखिरहेको बताए। ‘अहिले पनि व्यक्तिवादको रोग रहेको छ। आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ। अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति पनि उस्तै छ’, उनले भने, ‘अहिले समस्या देखिरहेको छु। व्यक्तिवादको रोगबाट मुक्त भइएन भने, भ्रष्टाचारबाट मुक्त नभए झन् समस्या हुन्छ।’
साँचो अर्थमा आफूमा इमान्दारिता नभएमा समस्या हुने उनले बताए। त्यसैले कुनै पनि कुराको समाधन गर्न पहिले आफू सुध्रिनुपर्ने उनको तर्क थियो। उनले अहिले न्यून आर्थिक वृद्धि, उच्च मुद्रास्फिति, बढ्दो मूल्यवृद्धि, जनशक्ति पलायन, लगानी न्यून हुने अवस्था र न्यून पुँजीगत खर्च हुने अवस्था देखाएका हुन्।
त्यस्तै तरलताको संकुचन, घट्दो राजश्व परिचालन, उच्च ब्याजदरले पीडित हुने समस्या, बाह्य क्षेत्रमा सन्तुलनको चापको समस्या, भुक्तानी श्रृंखला टुटेको र जमिन बाँझिइरहेका कारण अर्थतन्त्र संकटमा पुगेको बताएका छन्।
खाद्यसंकट बढ्दै गएको, योजनाको उचित छनोट र प्राथमिकता निर्धारण हुन नसक्दा अर्थतन्त्रमा समस्या उत्पन्न भएको कुरा नीति कार्यक्रमले बोकेको बताएका हुन्। उनले मुलुकमा चरम अराजकता विद्यमा रहेको बताउँदै इमान्दारिता र मिहेनतको संस्कृतिमा कमी आएको बताए । त्यस्तै नेपालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति कार्यक्रमलाई गतिहीनको संज्ञा दिएका थिए। उनले नीति, कार्यक्रम कागजको खोस्टो मात्रै नभएको बताए।
प्रतिक्रिया