×

प्रधानमन्त्री देउवासँग डब्ल्यूएचओका महानिर्देशकको शिष्टाचार भेट

images

प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै डब्ल्यूएचओले नेपाललाई खोप वितरण गरी महत्त्वपूर्ण सहयोग गरेकाे बताउनु भयाे । प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा टेड्रोसलाई आग्रह गर्नुभयो । 

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवम् सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो । महानिर्देशक डा टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताउनुभएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा टेड्रोसले तीन दिने भ्रमणमा हिजाे नेपाल आउनुभएको थियो । नेपाल भ्रमणमा रहँँदा आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले भेटवार्ता गर्नुभयो । 

शुक्रबार​ ९ बैशाख २०७९ ०४:३० PM मा प्रकाशित

प्रतिक्रिया