×

प्रतिगमनको खतरा रहँदासम्म गठबन्धनलाई निरन्तरता - प्रचण्ड

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन चुनावपछि पनि निरन्तर रहने बताएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार रुपन्देहीमा गरेको कार्यक्रममा उनले चुनावपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न सत्तारुढ दलका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

साथै प्रचण्डले गठबन्धनलाई भोट नहाले पाप लाग्ने टिप्पणी गरेका छन् । ‘यो गठबन्धन खाली निर्वाचन जित्न बनाइएको होइन । यदि त्यसरी बुझियो र लिइयो भने यो गठबन्धनको ऐतिहासिक आवश्यकतालाई, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा, राष्ट्रको रक्षा, समानुपातिक समावेशीको रक्षाको विषयलाई अवमूल्यन गरेको ठहर्छ’ उनले भने ।

पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘हँसिया हथौडालाई रूखमा, रूखलाई हँसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, उनले भने, ‘गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए । ‘स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर, सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिनँ भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’यो चुनावमा सत्तारुढ गठबन्धन विजयी भएर मात्र नपुग्ने भन्दै प्रचण्डले ‘प्रतिगमन’को खतरा रहँदासम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।
 

शुक्रबार​ ४ कात्तिक २०७९ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया