×

 एशियन जुनियर उसु च्याम्पियनसिपमा कास्य पदक जित्दै योगेन्द्रले रचे इतिहास

images



मकाउ । उसु फेडेरेशन अफ एशियाको आयोजनामा मकाउमा भएको ११ औं एशियन जुनियर उसु च्याम्पियनसिपमा नेपालका योगेन्द्र लामाले कास्य पदक जित्न सफल भएका छन् ।

योगेन्द्र लामाले सान्सौं विधातर्फ ४८ केजी तौल समुहमा नेपाललाई कास्य पदक दिलाएका हुन् । उसु खेलाडीले जुनियरतर्फ अन्तर्राष्ट्रियस्तरमा जितेको यो पहिलो पदक हो । यो जितसङ्गै लामाले इतिहास समेत बनाएको नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले ईसन्चारपाती लाई  जनाए ।

१४ देखि २० अगस्टसम्म मकाउमा सञ्चालन भएको एशियन जुनियर उसु च्याम्पियनसिपमा नेपालको तर्फबाट पाँच जना खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा पुरुष थाउलोतर्फ एलिस मारिक र महिला थाउलो तर्फ ल्हाक्पा डोल्मा लामा र पासाङ्ग लामु शेर्पाले सहभागिता जनाएका थिए । त्यस्तै सान्सौंतर्फ योगेन्द्र लामा र ल्हाक्पा तामाङ्गको सहभागिता रहेको थियो ।

त्यस्तै प्रतियोगितामा थाउलो विधामा नानक्वानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुनियर खेलाडी एलिस मारिकले उत्कृष्ट खेलको प्रदर्शन गर्दै शीर्ष सातमा पर्न सफल भएका छन् । साथै मारिक दक्षिण एशियाली राष्ट्रको शीर्ष खेलाडी समेत बन्न सफल भएका छन् ।

प्रतियोगितामा नेपाली खेलाडीहरुको नेतृत्वमा उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामा र प्रशिक्षकको भूमिकामा लानम लामा रहेका थिए ।

प्रतियोगितामा नेपालसहित २५ राष्ट्रहरुको सहभागिता रहेको थियो । पाकिस्तानले भने अन्तिम समयमा आएर नाम फिर्ता लिएको थियो ।


प्रतियोगिताको अवसरमा नेपालमा उसु खेलको विकास तथा विस्तारका लागि एसियन उसु महासंघसँग वृहत छलफल भएको समेत महासचिव लामाले जानकारी गराए ।


 

सोमबार ४ भदौ २०८० १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया