×

नारायणी लिफ्ट सिँचाइ नयाँ पम्प जडान,बाह्रै महिना सञ्चालनका लागि तयारी

images

 

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माण कम्पनीको ढिलासुस्तीका कारण पम्प फेर्न चार वर्ष लागेको बताउनुभयो । उहाँले नारायणी लिफ्टलाई बाह्रै महिना सञ्चालनका लागि तयारी गरिएको जानकारी दिनुभयो ।

“नारायणी नदी र राप्ती नदीमा यति धेरै पानी बगेर खेर गएको छ”, प्रमुख दाहालले भन्नुभयो, “यसको उपयोग गर्न हिउँदमा पनि सञ्चालन गर्ने तयारी गरेका छौँ ।”

    महानगरपालिकाले पश्चिम चितवनको सात हजार बिघामा सिँचाइ उपलब्ध गराएको भन्दै भूमिगत जलस्रोत सिँचाइ कार्यालयमार्फत सयौँ स्यालो र डिप बोरिङ जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर सिँचाइका काम गरिरहेको बताउनुभयो । नारायणी लिफ्टमा रु २६ करोड ३२ लाख ४३ हजार एक सय ५१ को लागतमा यहाँ दुईवटा नयाँ पम्प जडान गरिएको हो । पम्पहाउस ‘ए’ मा रहेका ४० वर्ष पुराना पम्प फेरिएको छ ।

 यो सिँचाइमार्फत भरतपुरको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगन्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ ।

    भारतीय निर्माण कम्पनी डब्लुपीआइएल लिमिटेड कोलकाताले पम्प निर्माणको काम गरेको हो । नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले ढिलै भए पनि पानी छाडेपछि किसानले राहत महसुस गरेको बताउनुभयो ।

 विगतमा करिब पाँच हजार हेक्टर जमिनलाई सिँचाइ गर्दै आएको नारायणी लिफ्ट सिँचाइ प्रणालीले अहिले करिब ५० प्रतिशत क्षेत्रमात्रै सिँचाइ गर्ने गरेको छ ।
–––

शुक्रबार​ ५ साउन २०८० ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया