×

हिजाे एमालेलाई तराई प्रवेश गर्न दिइएकाे थिएन, अहिले मधेस बलियाे गढ बनेकाे छ - ओली

images

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावमा तराईका जनताले आफ्नाे पार्टीलाई मात्रै स्वागत गर्ने बताउनुभएको छ । 

आज बिहीवार काठमाण्डाैमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको पालिका चुनावमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताउनुभएको हो । उहाँले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेसमा एमालेको लहर आएको बताउनुभयो । 

मधेस प्रदेश एमालेको बलियाे गढ बनेको भन्दै अध्यक्ष ओलीले पालिका चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी बहुमत ल्याउन सक्छौँ । अघिल्लो चुनावमा पनि हामी सरकारमा थिएनौँ । तर हामीले परिणाम राम्रो ल्याएको थियौँ । तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन । यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छ । मधेशमा अहिले एमालेको लहर आएको छ ।’

अध्यक्ष ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफूले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो । प्रचण्ड, माधव नेपालहरूले सङ्गठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफूसँग नरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टी कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि प्रतिनिधि सभा विघटन गरेर सङ्गठन सुुदृढ गर्नुपर्‍याे ।’

अध्यक्ष ओलीले एमालेकाे सूर्य चिह्न सिध्याउँछु भनेर खान खोज्नेहरूको मुख जलेको टिप्पणी गर्नुभयो । तत्कालीन नेकपामा प्रचण्डले आफूलाई पार्टीबाट निष्कासन गरी मुद्दा चलाएर थुन्ने योजनाका साथमा १९ पृष्ठ लामो अभियोग पत्र ल्याएको उहाँकाे दाबी छ । उहाँले भन्नुभयो, ‘एमालेको सूर्य सिध्याउँछु भनेर कुदेकाहरूको थुतुनो जलिराखेको छ । गएकाे वर्ष एउटा डरलाग्दो षड्यन्त्र भयो । पार्टी अध्यक्षकाविरुद्ध, प्रधानमन्त्रीकाविरुद्ध फौजदारी आरोपहरूसहित १९ पृष्ठ लामो अभियोगपत्र अगाडि बढाइयो । त्यस अभियोगपत्रकाे याेजना भनेकाे पार्टीबाट निष्कासन गर्ने र मुद्दा चलाएर थुन्ने थियो ।’

अध्यक्ष ओलीले आउँदाे चुनावपछि एमाले संवैधानिक रूपमा, मूल ढोकाबाटै शासन सत्ता सम्हाल्न पुग्ने दाबी गर्नुभयाे । 

बिहीबार ८ बैशाख २०७९ ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया