×

अमेरिकी उपसहायकमन्त्री लुम्बिनी बौद्ध विश्वविद्यालयमा

images

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अमेरिकी उपसहायकमन्त्री केल्ली काईडेर्लिङको टोलीले भ्रमण गरेको छ । भ्रमणमा आएको मन्त्री केल्ली नेतृत्वको टोलीसँग विश्वविद्यालयमा  आयोजित छलफलमा उपसहायकमन्त्री केल्लीले अमेरिका र नेपालको सम्बन्ध ७५ वर्षदेखि घनिष्ट रहेको बताउनुभयो । यो सम्बन्ध निरन्तर रहने उहाँँँको भनाइ छ ।

अमेरिकी प्रतिनिधि मण्डललाई विश्वविद्यालयका उपकुलपति प्रा डा  हृदयरत्न बज्राचार्यले विश्वविद्यालयको प्राज्ञिकसहित समग्र विषयमा जानकारी गराउनुभएको थियो । उपकुलपति बज्राचार्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्रको माग बमोजिम विश्वविद्यालय स्थापना भएको भन्दै स्थापनाको उद्देश्यपूर्ति गर्ने गरी कार्य गरिरहेको बताउनुभयो । विश्वविद्यालयले मूल बौद्ध दर्शन र प्रयोगात्मक बौद्ध दर्शनलाई आत्मसाथ गर्दै कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कानुन, यात्रा तथा पर्यटन, वन विज्ञानलगायत विषयहरु बौद्ध दर्शनकै प्रयोगात्मक शिक्षणतर्फका रहेको बताउँदै कक्षा सञ्चालन सुरु भएको छोटो अवधिमा बौद्ध विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राज्ञिक विकासका निरन्तर कार्य गरिरहेको जानकारी गराउनुभयो । सो अवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्य, डीन डा माणिकरत्न शाक्य, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, प्राध्यापक डा साकिच्च, केन्द्रीय क्यामपस सहायक प्रमुख डा शारदा पौडेललगायत प्राध्यापक, कर्मचारीको सहभागिता रहेको थियो ।  अमेरिकी दुतावासको सहयोगमा लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीले अङ्ग्रेजी भाषा प्रशिक्षण कक्षा लिइरहेका छन् । उपसहायक मन्त्रीसहितको टोलीले विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको थियो ।

बिहीबार ८ बैशाख २०७९ ०९:५८ PM मा प्रकाशित

प्रतिक्रिया