काठमाडौँ, ३ भदौ (२०८३) । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले वर्तमान सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा खतरनाक विचलन देखा परेको गम्भीर आरोप लगाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता बादलले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा जनविरोधी र निरंकुश बन्दै गएको टिप्पणी गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तत्काल पहल कदमी लिएर बालेन शाहलाई हटाउँदै सरकार पुनर्गठन गर्न स्पष्ट सुझाव र आग्रह समेत गरे।
सांसद बादलले संसद्को रोस्ट्रमबाट बोल्दै सरकारका कूटनीतिक र आन्तरिक कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन्।
सुरक्षा र कूटनीतिमा 'खतरनाक विचलन' को आरोप
सरकारले तिब्बती शरणार्थी कार्यालय (टीओबी) र पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने बहानामा नेपालमा खुलेआम राजनीतिक चलखेल गर्न अनुमति दिएको बादलको आरोप छ।
नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध वा दोस्रो खम्पा विद्रोहका लागि प्रयोग हुन नदिन सरकार सचेत नभएको उनले दाबी गरे।
केही शोधकर्ताको हवाला दिँदै उनले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको र विगतका आन्दोलनमा लुटिएका हतियार त्यहाँ लुकाइएको आशंका गर्दै सरकारको ध्यानाकर्षण गराए।
सरकारको शक्तिको स्रोत: तीन 'ए'
बैठकमा नेता बादलले वर्तमान सरकार जनताको जगमा नभई विदेशी र प्राविधिक शक्तिको आडमा टिकेको टिप्पणी गरे। उनका अनुसार यो सरकारको शक्तिको स्रोत तीन 'ए' अर्थात् आर्मी (सेना), अल्गोरिदम र अमेरिका हुन्। उनले रास्वपा र बालेन सरकारलाई लक्षित गर्दै भने, “काँचको घरमा बसेर कसैले अहंकार र उत्ताउलोपन प्रदर्शन नगर्नुस्।”
'गरिब हटाउने' नीति र राज्य आतंक
बालेन सरकारले निरंकुशताका सबै कीर्तिमान तोडेको आरोप लगाउँदै एमाले नेता बादलले भने, “यो अनौठो लोकतन्त्रले भित्तामा ग्रेटर नेपालको नक्सा त झुन्ड्याउँछ तर व्यवहारमा राज्य आतंक मच्चाउँछ।” सरकारले गरिबी हटाउनुको सट्टा डोजर चलाएर गरिब र सुकुम्बासीहरूलाई नै उठिबास लगाएकोमा उनले कडा आक्रोश पोखे।
रवि लामिछानेलाई तेस्रो विकल्पको सुझाव
मुलुक ठूलो संकटतर्फ धकेलिन लागेको भन्दै बादलले रास्वपा सभापति रवि लामिछानेलाई तत्काल 'तेस्रो विकल्प' रोज्न आग्रह गरे। उनले प्रधानमन्त्री बालेन शाहको कार्यशैली नसच्चिए र लामिछानेले सरकार पुनर्गठनको ठोस कदम नचाले एमाले राष्ट्रियता र जनजीविकाका लागि सडक आन्दोलनमा जान बाध्य हुने कडा चेतावनी दिए।
प्रतिक्रिया