×

सिपेक सफल एवम् परिवर्तनकारी परियोजनाको बनेको छ’

images


चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक)आफ्नो देशको लागि सबैभन्दा सफल र परिवर्तनकारी परियोजना साबित भएको उल्लेख गर्दै एक जना उच्च पाकिस्तानी अधिकारीले त्यसबाट क्षेत्रीय सम्पर्क विस्तारका साथै आर्थिक समृद्धिको नयाँ युगको सुरुवात भएको बताएका छन् ।  

इस्लामावाद नीति अनुसन्धान संस्थानद्वारा ‘चीन–पाकिस्तान आर्थिक करिडोरः क्षेत्रीय सम्पर्क सञ्जालका लागि प्रवेशद्वार’ विषयमा आयोजित कार्यशालामा पाकिस्तानका योजना विकासमन्त्री अहसान इकबालले सिपेकका कारण देशमा परिवर्तनकारी प्रभाव परेको बताउनुभयो । उहाँले परियोजना सुरु भएको तीन वर्षमा पाकिस्तानमा सर्वाधिक प्रत्यक्ष विदेशी लगानी चीनबाट प्राप्त भएको बताउनुभयो । 

अर्बौं डलरको परियोजना कार्यान्वयन गरेर चीन पाकिस्तानको प्रमुख आर्थिक साझेदार बनेको मन्त्री इकबालले बताउनुभयो । सिपेकलाई पाकिस्तानका निम्ति कायापलट गर्ने परियोजनाका  रूपमा व्याख्या गर्दै उहाँले परियोजनाबाट ऊर्जा अभाव हटाउन तथा  सडक र रेल पूर्वाधार स्थापनामा मद्दत पुगेको बताउनुभयो ।

विशेष गरी दक्षिणपश्चिम ग्वादर जिल्लामा सामाजिक–आर्थिक विकासलाई बढावा दिन विशेष आर्थिक क्षेत्र (सेज) र सामाजिक कल्याण परियोजनाहरू पनि कार्यान्वयन भएका जानकारी दिँदै मन्त्री इकबालले यापार वृद्धि गर्न सेजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । चीनले सिपेक परियोजनाअन्तर्गत आर्थिक क्षेत्रको सफल कार्यान्वयनमा मद्दत गर्न तथा प्राविधिक ज्ञान एवम् विशेषज्ञता प्रदान गर्दै पाकिस्तानको निर्यात बढाउन सघाएको उहाँले उल्लेख गर्नुभयो । 

  “पाकिस्तानले आफ्नो निर्यात बढाउन र सेजको सफल कार्यान्वयनमा चिनियाँ सहयोग चाहेको छ,” योजना विकासमन्त्रीले भन्नुभयो । उहाँले सिपेकको दोस्रो चरणमा दुवै देशका व्यापार–व्यवसायबीचको सहयोगमा जोड दिँदै सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने स्पष्ट गर्नुभयो । उहाँले सिपेकअन्तर्गत अब औद्योगिक सहयोगतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 
पाकिस्तानको दिगो आर्थिक वृद्धिका लागि निर्यातमूलक वस्तु र  निर्यातमुखी नीति अपरिहार्य भएको बताउँदै त्यसनिम्ति मौजुदा उत्पादन पर्याप्त नहुने भएकाले विभिन्न वस्तुहरूको अतिरिक्त उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । 

बुधबार ३ साउन २०८० १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया