×

किरात मुन्दुमी मिथकहरुको जानकारीसहित लेखिएको ‘मुन्दुम ट्रेल’ को लोकार्पण

images

काठमाडौँ। मुन्दुम पदमार्गको अवधारणा, नामकरण, सामूहिक प्रयत्न, पदमार्ग निर्माणसँग गाँसिएका सङ्घर्ष र किरात मुन्दुमी मिथकहरुको जानकारीसहित लेखिएको

 

‘मुन्दुम ट्रेल

 

संस्मरणात्मक कृति ‘मुन्दुम ट्रेल’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा प्राज्ञ राजन मुकारुङ, अन्वेषक डा. भक्त राई, आख्यानकार जानुका खतिवडा, आख्यानकार भानु बोखिम र लेखक श्याम सामसोहाङ राईले शनिबार राजधानीको मण्डला नाटकघरमा लोकार्पण गरे ।

कार्यक्रममा मन्त्री सुदन किरातीले श्यामलाई बधाई शुभकामना दिँदै भने, ‘सपनाले डोराएका मान्छेहरु स्वभाविक रुपमा कहीँ गए पनि सुखले बस्न पाउँदैन । तपाईंलाई सपनाले छोडेको रहेनछ । तपाई सपना र सिर्जना भएको मान्छे ।’ किताबमा भएको आवरण हेर्दै भावुक हुँदै मन्त्री किरातीले भने, ‘मेरो घरको डिलबाट देखिने हिमाल, साथी नै नभएकोर  खाना नै नभएको ठाउँमा म त्यही हिमाल हेरिबस्थेँ ।

डाँडा र हिमालको बीचबाट जहाज उड्थ्यो, जहाजसँगै मन पनि उड्दैउड्दै जान्थ्यो । संयोगले आज त्यही हिमालको मन्त्री भएको छु ।’ उनले भने, ‘सपना, सोच र सिर्जनाले जोड्छ मान्छेलाई । भोलि मानिसले त्यस्तो ठाउँ खोज्नेछन् जहाँ गाडी भेटिन्न जहाँ मोबाइलको नेटवर्क टिप्दैन । र त्यस्तो संस्कृति मैत्री, गाउँ सहर जेड्ने भुगोल मुन्दुम पदमार्ग हुनेछ ।’ 

राज्यले गर्नुपर्ने काम गरेको हुँदा श्याम धन्यवादको पात्र भएको प्राज्ञ राजन मुकारुङले बताए । उनले भने, ‘संगो समुदाय ऊप्रति आभारी हुनुपर्छ किनभने उसले सपना मात्रै देखेन । त्यसलाई पूरा गर्न अनेक कठिनाइ भोग्यो जुन कुरा किताबमा छ । यो कुराले नयाँ पुस्तालाई उत्प्रेरित गर्छ । यो किताब श्यामले दिएको सुन्दर सप्र्राइज हो ।’ २० वर्षअघिका सपना सम्झँदै मुकारुङले भने, ‘उसले मुन्दुमी शैलीलाई इमानदारपूर्वक समाएकोले किताब पठनीय भएको छ । स्थानको विशेषता, मुन्दुमी मिथक जस्ता विषयले मज्जाले तान्छ ।’

अन्वेषक डा. भक्त राईले पढ्न थालेपछि किताबले तान्ने बताए । वरिष्ठ संगीतकर्मी, पर्यटनविद, सांस्कृतिक अभियन्ताको लेखक अवतार प्रशंसनीय रहेको बताउँदै उनले भने, ‘सुन्दर कलेवर छ । अनि, सुरुको च्याप्टर पढ्दै गर्दा म यस्तरी भास्सिएँ कि सारा काम पन्छाएर मैले पूरै किताब पढिसकेँ । यति उत्कृष्ट लेखन छ, किताबले यति तान्छ, तपाइँ लेखक सँगसँगै जानुहुन्छ यात्रामा ।’ राई भने, ‘आजसम्म केके भयो ? त्यसको अप्डेटसहित ‘मुन्दुम ट्रेल’को अर्को संस्करण अनुवादसहित आउनुपर्छ ।’

आख्यानकार जानुका खतिवडाले श्यामले यस्तो काम किन रोजे ? भन्ने प्रश्न गर्दै भनिन्, ‘म गैरकिरात भए पनि मलाई स्पर्श ग¥यो किताबले । मुन्दुम संस्कृति र मिथको रोचक प्रस्तुतिले किताबलाई आकर्षक बनाएको छ ।’

आफ्नो उपन्यास आतोओडा लेखनको सन्दर्भ जोड्दै उनले भनिन्, ‘खोज अनुसन्धान गर्न सजिलो छैन । एउटा व्यक्तिले यस्तो काम गर्नु झनै सजिलो छैन ।’ खतिवडाले भनिन् , ‘माटोको माया, सम्प्रदाय र संस्कृतिको माया लाग्छ भने यो किताबले १०० प्रतिशत उतप्रेरणा दिन्छ ।’

आख्यानकार भानु बोखिमले ‘मुन्दुम ट्रेल’ मानवीय संवेदनालाई पकडेर लेखिएको जीवनजस्तै भएको बताए । ‘आवेग, हाँसो, दुःख सुख, सहकार्य, चुनौती, सङ्घर्षको चित्रात्मक प्रस्तुति छ । जीवनमा आइपर्ने घटना परिघटना, किराती मिथले किताबलाई पठनीय बनाएको छ ।’

बोखिमले भने, ‘हामीले जीवनमा उद्देश्य लिएर बाँच्नुपर्छ तर आफ्नो लागि मात्र होइन अरुका लागि पनि बाँच्नुपर्छ । जीवनको प्रयास नितान्त आफ्नो लागि मात्र हुनु हुँदैन । श्यामको चाहना त्यही हो र यो किताबले पनि यस्तै सन्देश दिन्छ । यो किताब पढ्दा उत्प्रेरणा मिल्छ ।’

लेखक श्याम सामसोहाङ राईले किताब किन लेख्नुप¥यो भन्ने सन्दर्भ निकाल्दै भने, ‘मभित्र भएको लेखक, साहित्यअनुरागी र साहित्य साधकको मनोविज्ञानले काम गरेको छ । मलाई लाग्थ्यो, म लेख्न सक्छु ।’

श्यामले भने, ‘अभियन्ताका हिसाबले सुरुवातमा हिँड्ने व्यक्ति भएकाले पनि किताब लेख्ने आँट आएको हो । यो पुस्तक सामूहिक कार्यको दस्तावेजीकरण हो ।’

गायक, सङ्गीतकार, पर्यटन अभियन्ता एवम् व्यवसायी श्यामको यो पहिलो किताब हो । कलम प्रकाशनले प्रकाशन गरेको किताबको मूल्य ४७५ रुपैयाँ छ । 

    


 

सोमबार ४ असार २०८० ०९:०६ AM मा प्रकाशित

प्रतिक्रिया