काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चाडपर्व (दसैँ र तिहार) लगत्तै वर्तमान सरकारविरुद्ध सशक्त सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले ‘तथाकथित नयाँ’ भनिएको सरकारले मजदुर, किसान, सुकुमबासी, विद्यार्थी र ट्रेड युनियनमाथि दमन तथा ज्यादती गरेको आरोप लगाए।
सदनभित्रका सबै प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको जानकारी दिँदै उनले चाडपर्वपछिको परिस्थितिको मूल्याङ्कन गरी बृहत् संयुक्त मोर्चा निर्माण गरेर प्रतिक्रान्तिकारी षड्यन्त्रविरुद्ध नयाँ आन्दोलन सृष्टि गरिने स्पष्ट पारे।
‘सरकारले सुकुमबासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियन आन्दोलनका सहयात्रीहरूमाथि दमन र अत्याचार सुरु गरेको छ,’ प्रचण्डले भने, ‘त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। चाडपर्वपछि देशको परिस्थिति हेरेर हामी फेरि एउटा नयाँ प्रतिवाद र आन्दोलनको सृष्टि गर्नेछौँ।’
सरकारका कदम र कार्यशैलीका कारण जनतामा सिर्जना भएको भ्रम बिस्तारै हट्दै गएको दाबी गर्दै उनले भने, ‘केही महिनाभित्रै नयाँ भनिएको सरकारका क्रियाकलापले जनतामा रहेको दिग्भ्रम चिरिँदै छ। फेरि स्थापित पार्टी, स्थापित नेता र उनीहरूका एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ।’
मधेस, बागमती लगायत देशका विभिन्न भूगोलमा पार्टीप्रतिको जनलहर र आकर्षण पुनः बढ्न थालेको महसुस भएको बताउँदै उनले नेता-कार्यकर्ताहरूलाई जनतामाझ पुगेर आफ्ना एजेन्डा बुझाउन निर्देशनसमेत दिए। साथै, वर्तमान सरकार नागरिकका आधारभूत समस्या समाधान गर्न र उनीहरूको हितमा काम गर्न पूर्ण रूपमा असफल भएको आरोप उनले लगाए।
प्रतिक्रिया