×

विपद्मा ‘ड्रोन’को प्रयोग

images


काभ्रे, १ भदौ : काभ्रेपलाञ्चोकमा विपद्का घटनामा ‘ड्रोन’को प्रयोग गरी थप जनधनको क्षति हुनबाट जोगाउन थालिएको छ । 

जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले एक घटनामा ड्रोन प्रविधिको प्रयोगबाट थप क्षति हुनबाट रोकेपछि यसलाई विपद्को सहयोगीको रुपमा प्रयोगमा ल्याइने भएको हो । धुलिखेल नगरपालिका–१० स्थित शारदा बतासेमा हालै भएको आगलागीको घटनामा ड्रोनको माध्यबाट आगलागी भएको स्थान आगलागीको फैलावट जानकारी लिएपछि गणले तत्काल उक्त घटनामा आगलागीलाई नियन्त्रणमा गर्नुपर्ने पूर्वतयारीका लागि आवश्यक पर्ने सामग्री र जनशक्तिको व्यवस्थापन गरेको थियो । 

“ड्रोनका माध्यमबाट आगलागीको जानकारी लिएपछि आवश्यक सामग्रीसहितको जनशक्ति लिएर घटनास्थल पुगी आगो नियन्त्रणमा लिइएको थियो”, गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भन्नुभयो । उहाँका अनुसार खोज तथा उद्धारमा जानुअघि नै ड्रोनका माध्यमबाट सूचना र अवस्थाका बारेमा जानकारी लिई थप क्षति हुन नदिन प्रविधिलाई प्रयोगमा ल्याइएको हो । 

गणले प्रयोगमा ल्याएको ड्रोनको क्षमता १८ किलोमिटर टाढासम्म छ । जिल्ला सदरमुकाममा रहेको गणले धुलिखेल नगरपालिका क्षेत्रभित्र जुनसुकै स्थानमा विपद्का घटना भएलगत्तै उक्त ड्रोनबाट जानकारी लिई व्यवस्थापन गर्न सकिने सिंहले बताउनुभयो । स्थानीय तहले ड्रोनको ज्ञान, सीप तथा जनशक्ति व्यवस्थापन गरे स्थानीय नागरिकलाई विपदबाट हुनसक्ने थप जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताइन्छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् ।  

यसैबीच जिल्लामा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको उल्लेख गर्दै यसमध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जनाइएको हो । 

मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा रहन जिल्लास्थित स्थानीय तहलाई निर्देशन दिँदै आइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहलाई बाढी, डुबान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणार्थ सहजीकरण गर्न आग्रह गर्दै आएको छ । 

शुक्रबार​ १ भदौ २०८० ०५:५६ PM मा प्रकाशित

प्रतिक्रिया