×

भवन र नक्सा पास गर्न चार निकायलाई काठमाडौं महानगरको पत्राचार, अटेर गरे कारबाही गर्ने चेतावनी

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरेका ठूला सरकारी भवनलाई कारबाही गर्ने भएको छ । महानगरको निशानामा पहिलो चरणमा चार निकाय परेका छन् ।

कामपाको टोली राजधानीमा निर्माणाधीन सरकारी कार्यालयको भवन निर्माण गर्दा नक्सा पास भए वा नभएको अनुगमन गर्न पुग्दा अधिकांश सरकारी निकायले नक्सा पास नगरेको खुलेको थियो । लामो समयदेखि नक्साविपरीत निर्माण भएका भवनको नक्सा पास गर्न आग्रह गर्दा अटेर गरेपछि कारबाही प्रक्रिया अघि बढाएको हो ।

कामपाको आग्रहलाई अटेर गरेर नक्सा पास नगरी भव्य भवन निर्माण गरेका चार निकायलाई ती भवनको नक्सा पास गर्न पत्राचार गरेको छ ।

कामपा शहरी व्यवस्थापन विभागले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय र थापाथलीको निर्माणाधीन भवन, नेपाल टेलिकमको सुन्धारा र बबरमहलको भवन, राष्ट्रिय वाणिज्य बैंकका थापाथलीस्थित कार्यालय भवन र सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको हो ।

पटकपटक नक्सा पास गर्न आग्रह गर्दासमेत अटेर गरेपछि कामपाले पत्राचार गरेको हो । उपत्यकामा मुख्यालय रहेका अधिकांश सरकारी निकायले नक्सा पास नगरेको गुनासो वर्षौंदेखि आउने गरेको थियो ।

राजनीतिक पार्टीबाट निर्वाचित जनप्रतिनिधिले वर्षौंदेखि सो विषयलाई बेवास्ता गरेपछि महानगर फेरि पत्र पठाउने कि नपठाउने, पुनः पत्रचार गर्ने कि नगर्ने विषयमा दोधारमा रहेको महानगरले चार निकायलाई पत्र पठाएको हो ।

पत्रमा नक्सा पास नगरी नयाँ भवन निर्माण भएको देखिएकाले सूचनालाई आधार मानेर तत्काल प्रमाण पेस गर्न आग्रह गरेको छ । यसअघि जेठ २ गते पठाएको पत्रको बेवास्ता गरेपछि कामपाले शुक्रबार पुनः पत्राचार गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट

आइतबार​ ३ असार २०८० ०८:२१ AM मा प्रकाशित

प्रतिक्रिया