×

क्यान्टोनमेन्टका लडाकुको रकममा भ्रष्टाचार पुष्टि भए जेल जान तयार छु- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा छानबिन गर्न र दोषी देखिए आफैं जेल जान समेत तयार रहेको उनले बताएका छन् ।

संसदमा बिहीबार भएको प्रश्नोत्तरमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ८ हजार ४६० जना पूर्व लडाकुका नाममा राज्यकोषबाट अर्बौं रकम भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन गर्न तयार हो भनेर प्रश्न गरेका थिए ।

जवाफमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्नु आरोपका निम्ति आरोप मात्र भएको बताए ।

शान्ति सम्झौता भएर क्यान्टोनमेन्टमा पूर्व जनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि भौतिक पूर्वाधार र रासनपानीको निम्ति भनेर राज्यबाट दिएको रकमको अडिट भएको उनले बताए । ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो ।

उहाँहरू समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो’ उनले भने, ‘यसलाई राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं आश्चर्यमा परेको छु ।’

बिहीबार ४ जेठ २०८० ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया