×

चुनाव सर्दै सर्दैन, कसैले शङ्का गर्नुपर्दैन - प्रचण्ड

images

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गतेको पालिका चुनाव सर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

माओवादी केन्द्रको प्रचार विभागले आज साेमवार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अनुमानका भरमा केही व्यक्तिले सञ्चारमाध्यममा चुनाव सर्ने शङ्का गरेको तर कुनै पनि हालतमा चुनाव नसर्ने बताउनुभयो । ‘देश चुनावमा होमिइसकेको छ, सबै दल आफ्नो अवस्था सुधारका लागि देश दौडाहामा छन्, सरकार र सरकारमा रहेका दलहरूको छलफलमा चुनाव सार्ने कुरा नै उठेको छैन, चुनाव कुनै हालतमा सर्दैन, ढुक्क रहन म अनुरोध गर्दछु’, उहाँले भन्नुभयो ।  

अध्यक्ष प्रचण्डले चुनाव सर्छ भनेर बेला–बेला हल्ला हुनु नेपालमा नौलो कुरा नभएको बताउनुभयो । ‘चुनाव हुने दिनको बिहानसम्म पनि चुनाव सर्छ रे नि भन्ने हल्ला भइरहेका हुन्छन्, अहिलेसम्मका चुनावमा त्यस्तै हल्ला भएका छन्, तर चुनाव हुन्छ, सार्ने कुरै छैन’, प्रचण्डको भनाइ छ । 

यसैबीच सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरपालिकाको भागबन्डा अन्तिम चरणमा पुगेको र आज बेलुका सबै टुङ्गिने प्रचण्डको भनाइ छ ।

संविधानविरोधी र प्रतिगमनका पक्षधर दल र नेताहरूलाई परास्त गर्नका लागि गठबन्धन आवश्यक रहेको भन्दै प्रचण्डले अबको चुनावमा परिवर्तन र प्रगतिका पक्षधरको विजय हुने दाबी गर्नुभयो । 

अब माओवादीले हरेक सोमवार पत्रकार सम्मेलन गरेर चुनावको सूचना सम्प्रेषण गर्ने भएको छ ।

सोमबार ५ बैशाख २०७९ ०२:२६ PM मा प्रकाशित

प्रतिक्रिया